Shangrila

एआईआईबीले नेपाललाई पहिलो चरणमा सवा ११ करोड ऋण प्रदान गर्ने

काठमाडौं, ६ पुस । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले नेपाललाई दिने ११ करोड २३ लाख अमेरिकी डलर (करिब १३ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ । एआईआईबीले दिएको यो रकम नेपालको कर्णाली र सुदूरपश्चिममा विद्युतीकरणमा खर्चिने जनाइएको छ ।

विद्युत् पहुँचमा नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेश सबैभन्दा पछाडि छन् । कर्णालीको जनसंख्यामध्ये २७.०३ प्रतिशतमा मात्रै विद्युत् पहुँच पुगेको छ । सुदूरपश्चिममा भने ५८.९० प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको तथ्यांकले देखाउँछ । नेपालका ७८ प्रतिशत जनतामा राष्ट्रिय ग्रिडबाट विद्युत् पहुँच पुगेको भएपनि कर्णाली र सुदूरपश्चिम कम विद्युतीकरण भएको क्षेत्र मानिन्छन् । तसर्थ यो रकम यस क्षेत्रको विद्युत विस्तारमा खर्च गरिनेछ । रकमले कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ जिल्लामा विद्युतीकरण, २१ वटा सबस्टेसन र २ हजार किलोमिटर वितरण लाइन निर्माण गरिनेछ ।

एआईआईबीले सन् २०१८ मा नेपाललाई १० लाख अमेरिकी डलर बराबरको अनुदान रकम प्रदान गरेको बैंकले प्रकाशित गरेको विवरणमा जनाइएको छ । उक्त रकम पश्चिम नेपालमा विद्युतीकरण कार्यक्रमको सम्भाव्यता अध्ययन, प्राविधिक तयारी र वातावरणीय तथा सामाजिक व्यवस्थापनका लागि खर्चिएको थियो । चीनको नेतृत्वमा सन् २०१६ देखि सञ्चालित एआईआईबीमा एक सयभन्दा बढी देश सदस्य छन् । बेइजिङमा मुख्यालय रहेको बैंकको उद्देश्य एसिया र यसबाहेकका देशमा पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु हो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *