परियोजना बैंकमा ४ सय ६० आयोजना आवद्ध

काठमाडौं, ८ पुस । परियोजना बैंकमा ४ सय ६० वटा आयोजना आवद्ध भएका छन् । योजना आयोगका अनुसार विभिन्न मन्त्रालयले ती आयोजनालाई अनलाइन प्रक्रियाबाट परियोजना बैंकमा आवद्ध गरेका हुन् ।

सरकारले चालु आर्थिक वर्षबाट पूर्व तयारी सकिएका आयोजनालाई मात्रै बजेट समावेश गर्ने उद्देश्यले परियोजना बैकको अवधारणा औपचारिक रुपमा शुरु भएको हो । आयोजना बैंकमा दर्ता भएका आयोजनाहरु भने सबै नयाँ छैनन् । केही पुराना आयोजनाहरु पनि आवद्ध भएको योजना आयोगले जनाएको छ । जारी आयोजनालाई पनि मन्त्रालयहरुले परियोजना बैंकमा समावेश गरेका छन् । त्यस क्रममा कुन आयोजना कुन चरणमा छ भन्ने खुल्ने आयोगले जनाएको छ । सोही आधारमा आयोगले आयोजनाको पुनः प्राथमिकीकरण र लेखाजोखा गर्ने छ । त्यसरी छानिएका आयोजनाले नै आगामी आर्थिक वर्षका लागि बजेट प्राप्त गर्नेछन् । कार्यान्वयनमा जानासाथ काम शुरु गरिहाल्न सकिने आयोजनाले मात्र बजेट पाउने गरी परियोजना बैंकको परिकल्पना भएको जनाइएको छ ।

विगतमा आयोजनालाई बजेटमा पार्न कुनै खास मापदण्ड तोकिएको थिएन । खुद्रे आयोजनाको बाहुल्य थियो । सोहीकारण अन्धाधुन्द आयोजना बजेटमा परेका थिए । कतिपय आयोजना शुरु भए पनि औचित्य पुष्टि हुन नसकेर अलपत्र छन् । भविश्यमा आयोजना यसरी अलपत्र नपरुन् भन्ने उद्देश्यले परियोजना बैंकको अवधारणा आएको आयोगले जनाएको छ ।

प्राथमिकतामा पर्ने आयोजनालाई एयरमार्क नै गरेर मन्त्रालयहरुमा बजेटको सिलिङ जानेछ । जसले गर्दा राज्यको प्राथमिकतामा परेका, १५ औं योजनाले अगाडि बढाउने परिकल्पना गरेका र तयारी अवस्थामा रहेका आयोजनाले पुग्ने गरी बजेट पाउने छन् । आयोजना छान्दा भने सन्तुलित विकास, राष्ट्रिय महत्व, प्रादेशिक सन्तुलनलाई ध्यान दिइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *