द्रुतमार्ग निर्माण गर्न २७ हजार रुख काटियो
काठमाडौं, ८ पुस । निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको करिब ७७ किलोमिटर निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा उक्त क्षेत्रमा पर्ने करिब ३८ हजार ६ सय ६४ रूखमध्ये २७ हजार ६९ रूख काटिएको हो । ११ हजार एक सय रूख सुरुङ निर्माणका क्रममा काटिने काटिनेछ ।
सडक निर्माणको सिद्धान्तअनुसार पहाडी क्षेत्रमा ५० मिटर र तराई क्षेत्रमा १ सय मिटरसम्मका रूख काट्नुपर्ने भएकाले वन मन्त्रालयसँग अनुमति लिएर ती परिमाणको रुख काटिएको आयोजना कार्यन्वयन महाशाखाले जनाएको छ ।
द्रुतमार्ग निर्माणका क्रममा काटिएका रूखको व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको छ । वन मन्त्रालय मातहत रहेका रूख जिल्ला वन कार्यालयमा र सामुदायिक वन मातहतमा रहेका तथा काटिएका रूख सामुदायिक वन सरोकारवाला निकायको रोहवरमा बुझाएको नेपाली सेनाले जनाएको छ । वातावरणीय मापदण्डअनुसार एउटा रूख काट्दा २५ रूख रोप्नुपर्ने भएका कारण नेपाली सेनाले निजगढ र राजदरबारमा करिब एक लाख ५० हजार बिरुवा उत्पादन गरिरहेको छ ।