Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता

अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता

काठमाडौं, २५ पुस । राष्ट्रियसभा सदस्यको पदावधिको विषयलाई लिएर अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकालका सम्बन्धमा विभिन्न अड्कलबाजीहरु भइरहेका छन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिने भएका छन् । खतिवडा राष्ट्रियसभामा राष्ट्रपतिबाट नियुक्त भएर आएकाले पुनः राष्ट्रपतिबाट नियुक्तीमा कुनै अवरोध नरहेकाले अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता हुने भएको हो ।

अर्थमन्त्रीको कार्यकालका सम्बन्धमा अहिले बजारमा अनेकन् अड्कलबाजीहरु भइरहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचनमा भाग लिनेहरुलाई नदोहोर्याउने निर्णय लिएको भएपनि राष्ट्रपतिले गर्ने नियुक्तिमा यसले कुनै बाधा नपार्ने नेकपा सचिवालयका एक शीर्ष नेताले बताए ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सभामुखमा सहमति जुट्न नसकेपछि अर्थमन्त्री फेरबदलको कुनै गुञ्जायस नरहेको हो । दाहालले पूर्व माओवादीकै भागमा सभामुख राख्न अडान लिएपछि प्रधानमन्त्री ओलीले अर्थमन्त्री परिवर्तन गरेर दाहालको सिफारिशका व्यक्तिलाई अर्थमन्त्री नबनाउने पक्का भएको छ । दाहालको सिफारिशमा अर्थमन्त्रीका उम्मेदवार सुरेन्द्र पाण्डे हुन् । पाण्डेलाई अर्थमन्त्री बनाए चितवनमा आफ्नो समेत निर्वाचन क्षेत्र लक्षित आयोजनामा बजेट विनियोजन गराएर दुवैले स्वार्थ पूरा गर्ने मेसो मिलाएको भएपनि यसमा प्रधानमन्त्री केपी शर्मा ओली जानकार रहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्रका रुपमा अर्थमन्त्रीका सम्भावित उम्मेदवार विष्णु पौडेलले मन्त्री भन्दा पनि आफू पार्टीमै सक्रिय हुन चाहेकाले खतिवडालाई नै निरन्तरता दिन प्रधानमन्त्रीसँग आग्रह गरिसकेका छन् । प्रधानमन्त्री ओलीसँग अर्थमन्त्री बनाउन अर्का व्यक्ति शंकर पोखरले हुन् । उनलाई प्रदेश ५ को मुख्यमन्त्रीबाट राजीनामा गराएर प्रधानमन्त्रीले सल्लाहकार राख्ने र फागुनमा अर्थमन्त्री खतिवडाको राष्ट्रिय सभाको जिम्मेवारी समाप्त भएपछि अर्थमन्त्रीको जिम्मेवारी दिने चर्चा थियो । तर सल्लाहकारमा विष्णु रिमालकै निरन्तरता भइसकेकाले त्यो सम्भावना टरिसकेको छ । दाहालले सभामुखमा प्रधानमन्त्री ओलीको सल्लाह अनुसार सुवासचन्द्र नेम्वाङको नाममा सहमति गरेको भए ओलीले नारायणकाजी श्रेष्ठलाई अर्थमन्त्री बनाउन ग्रीन सिग्नल दिएका थिए । अब सभामुख पूर्व माओवादीले नै राख्ने भएपछि प्रधानमन्त्री ओलीलाई त्यो बाध्यता पनि छैन । श्रेष्ठ अहिले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छन् र उनको जित पक्का भैसकेको छ ।
सभामुखमा उत्पन्न विवादले अर्थमन्त्री खतिवडाको निरन्तरता अझै सुनिश्चित भएको नेकपा सचिवालय स्रोतले पुष्टी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x