नेपालले चीन हुँदै तेश्रो मुलुकसँग व्यापार गर्न सक्ने

काठमाडौं, २८ पुस । नेपालले चीन हुँदै तेश्रो मुलुकसँग व्यापार गर्न सक्ने भएको छ । नेपाल र चीनबीचको पारवहन तथा यातायात सम्झौता ज्यानवरी १ देखि कायान्वयनमा आएको हो । चीनले नेपाललाई चार सामुद्रीक बन्दरगाह र तीन सुख्खा बन्दरगाह उपयोग गर्ने सुविधा दिएको छ । चीनले सामुद्रीक बन्दरगाहहरुमध्ये तियान्जिन, सेन्जेन, लियानयुगांग, झान्जियांग प्रयोग गर्न अनुमति दिएको छ । यी मध्ये नेपालबाट सबैभन्दा नजिक पर्ने सामुद्रीक बन्दरगाह तियान्जिन नेपालको सीमाबाट ३००० किमी टाढा छ ।

त्यस्तै चीनले लान्झाउ, ल्हासा र सिगात्सेका सुख्खा बन्दरगाह प्रयोगका लागि पनि अनुमति दिएको छ । सुख्खा बन्दरगाहमार्फत् पनि नेपालले तेश्रो मुलुकसँग व्यापार गर्न सक्छ । नेपालले पहिलोपटक चीनको पारवहन प्रयोग गर्ने अनुमति पाएको हो । यसअघि नेपाल पूर्णतः भारतमा निर्भर थियो । भारतले कलकत्ता र विशाखापट्नम गरी दुइ सामुद्रीक बन्दरगाहमार्फत् नेपाललाई तेश्रो मुलुकसँग व्यापार गर्ने सुविधा दिएको छ । भियाना महासन्धि अनुसार भूपरिवेष्ठित देशलाई छिमेकी राष्ट्रहरुले समुद्रसम्मको पहुँच दिनुपर्छ ।

सोही अनुसार नेपालले चीनसँग पनि समुद्रसम्मको पहुँच माग गरेको हो । भारतीय नाकाबन्दी लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा सन् २०१६६ मार्चमा चीनसँग पारवहन तथा यातायात सम्झौता गरेका थिए । त्यसको प्रोटोकलमा गत वर्ष सहमति भएको थियो । सहमति भएको एक वर्षपछि चीनले उक्त सम्झौता कार्यान्वयनमा ल्याएको हो ।

नेपालले रसुवाढी, तातोपानी, कोराला, किमाथांका, यारी, ओलाङचुङ गोला नाकाबाट चीनसँग सीमामा नाका खोलेको छ । यी नाकामार्फत् चीनसँग र चीनको पारवहन प्रयोग गरि अन्य मुलुकसँग व्यापार गर्न सकिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *