नेप्से परिसूचक फेरि १३ सय तल
काठमाडौं, ९ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार घटेर १३ सय विन्दुभन्दा तल झरेको छ । साताको पहिलो कारोवार दिन आइतवार १३४३.६६ विन्दुमा पुगेको नेप्से परिसूचक त्यस यता लगातार घटेर साताको अन्तिम दिन बिहीबार (आज) १२९७.४७ विन्दुमा झरेको हो ।
त्यस्तै आज नेप्से परिसूचकमा पनि गिरावट आएको छ । हिजो ७.०५ अंकले घटेको परिसूचक आज १५.९५ प्रतिशत घटेर बन्द भएको छ । आज १ सय ७२ कम्पनीको ३७ लाख ५४ लाख ५ सय २१ कित्ता सेयर १ अर्ब ३८ करोड ४२ लाख रुपैयाँमा खरिद–विक्री भएको छ । सर्वाधिक कारोबार हुनेमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीको १८ करोड ४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै सर्वाधिक कारोबार हुने दोस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ । यो बैंकको १५ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । हिजो उक्त बैंकको ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका १२ समूहमध्ये २ समूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी १० समूहको परिसूचकमा गिरावट आएको छ । परिसूचक वृद्धि हुनेमा अन्य समूह ०.२६ प्रतिशत र जीवन बीमा समूह ०.५७ प्रतिशत रहेका छन् ।