औषधि उद्योगले आयात गर्ने कच्चा पदार्थमा भन्सार छुट गर्न पहल गर्छु : रक्षामन्त्री पोखरेल

काठमाडौं, १६ माघ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले औषधि उत्पादनमा चाहिँने कच्चा पदार्थमा भन्सार छुट गराउँन पहल गर्ने बताएका छन् । आज आयोजित देउराली–जनता फर्मास्यूटिकल्स प्रा.लि.को २९औं वार्षिकोत्सव समारोहमा उनले नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्न आफूहरु तयार रहेको बताएका हुन् । सरकारले विकास र समृद्धिको एजेण्डालाई अगाडि बढाएकोले यसमा उद्योग क्षेत्रको महत्वपूर्ण भूमिका हुने र त्यसको एउटा पार्ट औषधि उद्योग पनि रहेको उनको भनाई छ ।

त्यस्तै चीनबाट कच्चा पदार्थ ल्याउँने भारतीय ठेकेदार कम्पनी भएको भन्ने व्यवसायीले गुनासो गर्ने गरेको र त्यसलाई समाधान गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए । रक्षामन्त्री पोखरेलले भने–‘चीनबाट कच्चा पदार्थ ल्याउँने भारतीय ठेकेदार भएको भन्ने व्यवसायीहरुले गुनासो गर्नुभएको छ । तपाईहरुलाई एक पटक पर्दा त यस्तो लाग्छ भने हामी बसौंदेखि यस्ता विषयबाट चिन्तित छौं । यसको समाधान गर्न सरकार तयार छ । काम गरिरहेको छ ।’

त्यस्तै औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले नेपालमा औषधि उत्पादन गरी विदेशमा निर्यात गर्ने औषधि कम्पनीलाई आवश्यक सहयोग गर्ने बताए । नेपालका उद्योगहरुले विदेशबाट सामान ल्याएर बेच्न उत्साहित हुने भन्दै विदेशी कच्चा पदार्थ ल्याई स्वदेशी सामग्रीको प्रयोग गरी औषधि उत्पादन गरी आत्मनिभर भए सरकारी स्तरबाट सहयोग हुने उनको भनाई छ । कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले पछिल्लो सयम विश्वमा नयाँ किसिमका रोगहरु देखा पर्ने गरेको र त्यस्ता रोग निराकरण गर्ने किसिमका औषधि उत्पादन गर्ने कम्पनीलाई नगरपालिकाले सधै सहयोग गर्ने बताए ।

त्यसैगरी देउराली–जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले विदेशबाट वर्षेनी ३० देखि ४० अर्ब रुपैयाँको औषधि आयात गर्दा नेपाली औषधि उद्योगहरुलाई असर परेकोले त्यसमा सरकारले ध्यान दिन आवश्यक रहेको बताए । उनले भने–‘करिव ११ अर्बको घिउ तथा पाम आयल भारतमा निर्यात गर्दा त्यत्ति ठूलो अर्थतन्त्र भएको भारतीय बजारमा हलचल मच्चियो भने हाम्रो जस्तो सानो बजार भएको मुलुकमा ३०–४० अर्ब रुपैयाँको औषधि आयात हुँदा स्वदेशी औषधि उद्योगलाई कस्तो असर पुग्छ ? सरकारले महसुस गर्नुपर्दैन ।’ सरकारले ऐन संशोधन गरेर यस्ता कुरालाई व्यवस्थापन गर्नेमा आफू आशावादी रहेको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *