सेयर बजार फेरि ओरालो गतिमा
काठमाडौं, २६ माघ । एक साता अघि उच्च विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक फेरि ओरालो गतिमा लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक १३१९.९९ विन्दुमा पुगेको छ । गत साताको सोमबार १३४९.१४ को उच्च विन्दुमा पुगेको बजार त्यस यता घट्दै गएको हो ।
आज नेप्से परिसूचक १३.७० अंक घटेको छ । १ सय ७३ कम्पनीको २५ लाख ५० हजार २ सय ६६ कित्ता सेयर ९५ करोड ४ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज नेको इन्स्योरेन्स कम्पनी, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक र सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको ३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १२ समूहमध्ये एक समूहको परिसूचकमा मात्र वृद्धि भएको छ । परिसूचक वृद्धि हुनेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ । उक्त समूहको ०.७ प्रतिशतले परिसूचकमा वृद्धि भएको हो । आज सबैभन्दा बढी परिसूचकमा कमी आउँनेमा होटेल समूह रहेको छ । यो समूहको २.७३ प्रतिशतले परिसूचकमा कमी आएको हो ।