पामपछि सोयाबिनको तेल बन्यो मुख्य निर्यातवस्तु
काठमाडौं, १३ फागुन । पाम तेल आयातमा भारतले प्रतिबन्ध लगाएपछि माघ महिनामा नेपालबाट पाम तेल निर्यात शूल्य बनेको छ । पहिलो ६ महिनामा नेपालले भारतमा १३ अर्ब रुपैयाँको पाम तेल निकासी गरेको थियो । एकलौटी बजार भारतमात्र भएकाले भारतको व्यापार नीति परिवर्तन पछि पाम तेलको निकासी ठप्प भयो । अहिले पुनः पाम तेल जस्तै गरी सोयाबिनको तेल निर्यात अत्याधिक बढेको छ । पहिलो सात महिनामा सोयाबिनको तेल ६ अर्बको निकासी भएको छ । सोयाबिनको निर्यात नेपालका प्रमुख निकासीको सूचीमा रहेका कार्पेट, यार्न, जुट, अलैंची भन्दा धेरै उच्च छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ७ महिनाको तथ्यांक अनुसार, निर्यातको वृद्धिदर २२ प्रतिशतमा झरेको छ । पामको आयातका कारण निर्यातको वृद्धिदर यस वर्षको सुरुवातदेखि नै उच्च थियो । पुसम्म निर्यात वृद्धि २६ प्रतिशत थियो ।
चालु आवको पहिलो सात महिनामा कुल ८ खर्ब तीन अर्बको वस्तु आयात भएको छ भने ६४ अर्ब ९७ करोडको वस्तु निकासी भएको छ । व्यापार घाटा ७ खर्ब ३८ अर्ब रुपैयाँ छ । चालु वर्षको पहिलो सात महिनामा प्रमुख आयातमा पेट्रोलियम, सवारी साधन, एमएस बिलेट, मिल मेसिनरी तथा औषधी रहेको छ । त्यस्तै, निकासीतर्फ पामपछि सोयाबिन तेल, यार्न, कार्पेट, चियाकफी रहेका छन् । नेपालको सबैभन्दा ठूलो व्यापारि साझेदार भारत रहेको छ । भारतबाट झण्डै पाँच खर्बको आयात र ४५ अर्बको निर्यात भएको छ । त्यस्तै चीनबाट १ खर्ब ३२ अर्ब रुपैयाँको आयात भएको छ । तर चीनमा निकासी नगण्य छ । नेपालका प्रमुख निकासी गन्तव्यहरुमा भारतपछि अमेरिका, जर्मनी, बेलायत र टर्की रहेका छन् । अमेरिकामा साढे ६ अर्बको निकासी भएको छ भने जर्मनीमा झण्डै २ अर्ब र बेलायत तथा टर्कीमा साढे १ अर्ब रुपैयाँको निकासी भएको भन्सार विभागले जनाएको छ ।