अर्थमन्त्रीको कार्यकालको टुंगोपछिमात्र गभर्नर सिफारिश

काठमाडौं, १६ फागुन । नेपाल राष्ट्र बैंकको गभर्नरको सिफारिश अर्थमन्त्रीको कार्यकालको टुंगो लागेपछि मात्र हुने भएको छ । चैत ७ मा रिक्त हुने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया सरकारले अझै अघि बढाएको छैन । रिक्त हुनुभन्दा एक महिना अघि नै गभर्नर नियुक्त गर्ने चलन भएपनि यसपटक भने गभर्नर सिफारिश समितिका संयोजक अर्थमन्त्रीकै कार्यकालको टुंगो नहुनु प्रमुख कारण रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभाको दुई वर्षे कार्यकाल यही फागुन २० गते सकिदैंछ । उनलाई राष्ट्रियसभामा दोहोर्याउने या नदोहोर्याउने भन्ने विषयमा पार्टीभित्र विभाजित मतहरु छन् । उनको दल नेकपाको सचिवालय बैठकले सर्वसम्मत रुपमा राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरिसकेको छ ।
यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले भने खतिवडालाई नै निरन्तरता दिने बताएका छन् । त्यसकारण अर्थमन्त्री खतिवडा उत्साहीत नै छन् । बिहीबार सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पनि उनी हँसिलो मुद्रामा प्रस्तुत भएका थिए । त्यहाँ उनले २१ गते सपथ रहेको बताएका थिए ।
खतिवडाको कन्फिडेन्सले उनी राष्ट्रियसभामा दोहोरिदैं छन् र अर्थमन्त्रीमा उनकै निरन्तरता रहनेछ भन्ने प्रष्ट संकेत मिल्थ्यो । यद्यपि अहिले नै खतिवडाको निरन्तरता रहन्छ भन्ने अनुमान गर्न भने गाह्रो छ । सिफारिश गर्ने अन्तिम हात प्रधानमन्त्रीसँग रहेकाले खतिवडाको निरन्तरताको सम्भावना भने उच्च छ ।
उनले भनेजस्तै फागुन २१ म सपथ भएपछिमात्र उनले गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाउनेछन् ।
गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन हुन्छ । समितिले मन्त्रिपरिषद्समक्ष नेपाल राष्ट्र बैंककै एकजना डेपुटी गभर्नरसहित तीनजनाको नाम सिफारिश गर्ने प्रचलन छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *