Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

चीनको राजदूत फेरिए, राष्ट्रियसभामा सिफारिस भएन

चीनको राजदूत फेरिए, राष्ट्रियसभामा  सिफारिस भएन

काठमाडौं, १९ फागुन । मन्त्रिपरिषद्को बैठकले चीनका लागि नेपाली राजदूतमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउने भएको छ । लीलामणी पौडेललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो । पौडेल प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा राजदूत नियुक्त भएका थिए । पूर्व मुख्यसचिव समेत रहेका राजदूत पौडेल ललिता निवास जग्गा प्रकरणमा समेत मुछिएका छन् ।

पौडेलको ठाउँमा शालीन व्यक्तित्व एवं पूर्व परराष्ट्रमन्त्री समेत रहिसकेका पाण्डे सिफारिस हुने भएका छन् । उनलाई संसदीय सुनिुवाईपछि बेइजिङ पठाइनेछ । लीलामणी पौडेल चीनका लागि नेपाली राजदूत हुँदा चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक भ्रमण भएको भन्दै आफूलाई सफल कुटनीतिज्ञको रुपमा आत्मप्रशंशा समेत गर्ने गरेका छन् । चीनमा राजदूत रहँदा उनलाई ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको थियो । अख्तियारका अतिरिक्त ललितानिवास जग्गा घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टै छानबिन गरिरहेको छ । अख्तियारले ललितानिवास प्रकरणमा प्रतिवादी बनाएका कर्मचारीहरुले मन्त्रिपरिषद् बैठकको निर्णय भएकाले तत्कालीन मुख्य सचिवले यसको जिम्मेवारी लिनुपर्ने बताउँदै आउएका छन् ।

राष्ट्रियसभामा कसैको नाम सिफारिस भएन
मंगलबारबाट रिक्त हुने राष्ट्रियसभाको सदस्यमा कसैको पनि नाम सिफारिस भएन । नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्न दबाब दिएपछि रुष्ट बनेका प्रधानमन्त्री ओलीले गौतम र युवराज खतिवडा मध्ये एकलाई सिफारिस गर्ने चर्चा थियो । प्रधानमन्त्री स्वयंले नै पनि गौतमलाई सिफारिश नगर्ने र खतिवडालाई नै निरन्तरता दिन चाहेको बताएपछि पार्टीभित्र विवाद चुलिएको थियो ।

विवाद बढेपछि प्रधानमन्त्रीले तत्काल कसैको पनि नाम सिफारिश नगरेर मध्यमार्गी बाटो खोजेका छन् । राष्ट्रियसभामा युवराज खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि सरकारको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने एकजना सदस्य रिक्त रहेको छ । प्रधानमन्त्री ओलीले उक्त ठाउँमा खतिवडालाई नै सिफारिश गरेर अर्थमन्त्रीमा निरन्तरता दिन चाहेका थिए । तर पार्टीले उनको रुचिबाहिरको निर्णय गरेपछि उनी असमञ्जसमा परेका हुन् । यद्यपि, अर्थमन्त्रीमा भने खतिवडाले नै निरन्तरता पाउने भएका छन् । राष्ट्रिय सभामा कार्यकाल समाप्त भएकाले उनलाई पुनः मन्त्री पदमा नियुक्त गर्नुपर्छ । खतिवडाको नियुक्तिपछि बुधबार सपथग्रहणको कार्यक्रम राखिएको छ । उनलाई मन्त्री नियुक्त भएको ६ महिनाभित्र सांसद् बनाइसक्नुपर्छ । यदि ६ महिनाभित्र सांसद बनाउन नसकेको खण्डमा उनको मन्त्रीको कार्यकाल स्वतः समाप्त हुन्छ । प्रधानमन्त्री ओली बुधबार नै मृगौला प्रत्यारोपणका लागि शिक्षण अस्पतालमा भर्ना हुनेछन् । उनले राष्ट्रियसभाको सदस्य सिफारिसमा विवादका कारण केही समय लिएर ‘वेट एण्ड वाच’ को रणनीति अंगीकार गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x