कच्चा तेलको मूल्य दुई दिनमै ४८ प्रतिशत घट्यो

काठमाडौं, २७ फागुन । पछिल्लो दुई दिनमा कच्चा तेल (ब्रेन्ट क्रुड आयल) को मूल्य ४८ प्रतिशतले गिरावट आएको छ । सन् १९९१ जनवरीको खाडी युद्धको भन्दा खराब अवस्थामा कच्चा तेलको मूल्य पुगेको छ । रुस र साउदी अरेबियाबीचको प्राइस वारका कारण कच्चा तेलको मूल्यमा भारी गिरावट आएको हो । साउदी अधिराज्यले रुसको उत्पादन कटौतीको निर्णयविरुद्ध उत्पादन वृद्धि गरेको छ ।

तेलको उत्पादन मागको तुलनामा अत्याधिक भएपछि मूल्यमा गिरावट आएको हो । कोरोना भाइरसको महामारी विश्वव्यापी भएसँगै तेलको खपतमा कमी आएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल ३३.७९ डलर प्रतिब्यारेल (१५९ लिटर) मा बिक्री भइरहेको छ ।
ओपेक र गैर ओपेक तेल उत्पादकहरुबीच शुक्रबारसम्म उत्पादन कटौतीका लागि सहमति हुने भनिएपनि सो हुन सकेन । जसका कारण कच्चा तेलको मूल्यमा कमी आएको हो । यही अवस्थामा विश्व बजारमा कच्चा तेलको मूल्य २० डलर प्रतिब्यारेलसम्म झर्ने प्रक्षेपण गरिएको छ । दुई दिनमै कच्चा तेलको मूल्य ४८ प्रतिशतले घटेपछि यस्तो प्रक्षेपण गरिएको हो । ओपेकबाट दैनिक ९७ लाख ब्यारेल उत्पादन हुँदै आएको छ ।

कच्चा तेलको मूल्यमा गिरावट आएसँगै विश्वभरका सेयर बजारमा पनि गिरावट आएको छ ।
कच्चा तेलको मूल्यमा कमी आएपछि खाडी देशहरुमा आइपर्नसक्ने सम्भावित धक्काले नेपालले प्राप्त गर्ने रेमिट्यान्समा समेत आघात पार्न सक्ने प्रक्षेपण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *