Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

लकडाउनपछि के गर्दै छन् उद्योगी व्यवसायीका संघसंस्थाहरू ?

लकडाउनपछि के गर्दै छन् उद्योगी व्यवसायीका संघसंस्थाहरू ?

काठमाडौं, १४ चैत । विश्वव्यापी महामारीको रूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकलाई १ हप्ताका लागि लकडाउन गरेको छ । सम्भाव्य विपत्ति रोक्न सरकारले लिएको यो कदमको सर्वत्र प्रशंसा भएको छ । लकडाउनको घोषणापछि आम नागरिकले घरमै बसेर सावधानी अपनाएका छन् भने विभिन्न सरोकारवाला निकायले पनि सरकारको अभियानमा साथ दिएका छन् ।
सरकारको यो अभियानमा देशको निजीक्षेत्रले पनि अग्रसरता लिएको छ । विशेषगरी स्वास्थ्य क्षेत्र र आपूर्ति व्यवस्थामा आपूmहरूले सकारलाई साथ दिएको नेपाल उद्योग महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । महासंघका वरिष्ठ कर्मचारीलाई ड्युटीमै बस्न भनिएको र विषयगत मन्त्रालय तथा विभागसँग मिलेर काम गरिएको उनको भनाइ छ । ‘महासंघ खासगरी गृह र उद्योग वाणिज्य मन्त्रालयसँग सहकार्य गरेर अघि बढेको छ,’ उनले भनिन्, ‘साथै महासंघका जिल्ला र नगर संघसँग मिलेर अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थामा सघाएका छौं ।’
महासंघले कोरोनाको परीक्षण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा साधन (पीपीई) र मेडिकल किट पनि उपलब्ध गराएको अध्यक्ष राणाले बताइन् । ‘मास्क लगायत सुरक्षाका सामग्री महासंघका जिल्ला र नगर एकाइले पनि वितरण गरेका छन्,’ उनले भनिन् । साथै प्रधानमन्त्री राहत कोेषमा फण्ड जुटाउने तयारी पनि भइरहेको उनले जानकारी दिइन् ।
यस्तै नेपाल उद्योग परिसंघले पनि आपूर्ति व्यवस्थामै सघाइरहेको अध्यक्ष सतीशकुमार मोरले बताए । ‘यसका लागि सरकारका विभिन्न निकायसँग सहकार्य गरेर अघि बढेका छौं,’ उनले भने । आपूर्ति व्यवस्था सहज र चुस्त राख्ने विषयमा आजै उद्योग मन्त्रालयमा छलफल गरिएको उनले जानकारी दिए । राज्यलाई अत्यावश्यक पर्ने सामान उपलब्ध गराउने सन्दर्भमा परिसंघले जोड दिएको उनको भनाइ छ ।
भारतमा लकडाउन भएकाले त्यहाँबाट मेडिकल लगायतका अत्यावश्यक सामग्री ल्याउन सहज नभएकाले चीनबाट ल्याउन परिसंघको विशेष कार्यसमितिले पहल गरिरहेको उनले जानकारी दिए । परिसंघले केही मेडिकल इक्वीपमेन्ट स्वास्थ्य मन्त्रालयलाई दिएको र अत्यावश्यक थप सामग्री दिने तयारी भएको उनले बताए ।
कोरोना नियन्त्रणमा सरकारलाई सघाउन नेपाल चेम्बर अफ कमर्शले पनि सक्रियता देखाएको छ । चेम्बरले पाँचजनाको विशेष कार्यसमिति बनाएर विभिन्न विषयगत मन्त्रालयसँग सहकार्य गरिरहेको अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । ‘तत्कालीन अवस्थामा सरकारलाई मेडिकल इक्वीपमेन्टकै बढी आवश्यकता देखिएको छ,’ उनले भने, ‘त्यसैले चेम्बर आफैले समेत चीनबाट यस्ता सामग्री मगाएको छ ।’ चेम्बरले नै उत्पादन गरेका मास्क लगायत सामग्री अस्पतालहरूमा वितरण गरिएको उनको भनाइ छ ।

आगामी दिनमा खाद्यान्न लगायत सामग्री उपभोक्तासम्म कसरी सहज ढंगले पु¥याउन सकिन्छ भन्ने विषयमा पनि चेम्बरले जोड दिएको उनले बताए । चेम्बरले सरकारलाई अत्यावश्यक पर्ने सामग्री उपलब्ध गराएर पहिलेदेखि नै सहयोेग गरिहहेको भन्दै उनले दैनिक उपभोग्य वस्तु लगायतको आपूर्तिमा सरकारसँग समन्वय र सहकार्यका लागि चेम्बर तयार रहेको बताए ।
यस्तै उपभोग्य वस्तु लगायत खरीद, भुक्तानी आदि प्रयोजनका लागि बजारमा पैसा प्रवाह सहज बनाउन केन्द्रीय बैंक, अर्थ मन्त्रालय लगायत निकायसँग सहकार्य गरिँदै आएको नेपाल बैंकर्स संघले बताएको छ । साथै अत्यावश्यक वस्तुको भुक्तानीका लागि डलर माग्ने सम्बन्धित बैंकलाई राष्ट्र बैंकसँग समन्वय गरेर उपलब्ध गराइएको अध्यक्ष भुवनकुमार दाहालले बताए । उनका अनुसार संघले नगद भुक्तानी भन्दा अनलाइन कारोबारमा जोड दिएको छ । ‘उपभोक्तालाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतको प्रयोग बढाउन भनेका छौं,’ उनले भने । अनलाइन सुविधा प्रयोग गर्न नसकिने अवस्थामा एटीएमको प्रयोग गर्न भनिएको र सबै बैंकका एटीएममा पर्याप्त पैसा राख्ने व्यवस्था गरिएको उनले जानकारी दिए । यस्तै डेबिट कार्ड, क्रेडिट कार्ड नहुने ग्राहकले सम्बन्धित बैंकमा फोन गरेर अग्रिम जानकारी गराएमा उपयुक्त समय निकालेर क्यास नै दिने व्यवस्था पनि गरिएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x