Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सामाजिक दूरीले कसरी रोक्छ कोरोना संक्रमण ?

सामाजिक दूरीले कसरी रोक्छ कोरोना संक्रमण ?

काठमाडौं, २० चैत । विश्वभर कोरोनाको संक्रमण भयावह बन्दै गएको छ । यसको पूर्ण नियन्त्रण अहिले विश्वकै लागि चुनौती बनेको छ । रोकथामका अनेक उपाय अपनाइएका छन् । तर पनि दिनप्रतिदिन यसका संक्रमित र मर्नेको संख्या बढिरहेको छ । र, नेपालमा अहिलेसम्म यसको संक्रमण डरलाग्दो अवस्थामा नभए पनि सम्भाव्य महामारीको सन्त्रास कायमै छ ।
कोरोनाको संक्रमणबाट बच्न सम्बद्ध चिकित्सकदेखि विज्ञहरूले सुझाएको सबैभन्दा ठूलो उपाय भनेको एक–अर्काबीच सामाजिक दूरी कायम राख्नु नै हो । यद्यपि यसबाट जोगिन पटकपटक साबुनपानीले हात धुने, स्यानिटाइजर, मास्कको प्रयोग लगायत उपाय त छँदै छन् ।
यहाँ चर्चा गर्न खोजिएको विषय भने सामाजिक दूरीले कसरी यसको रोकथाममा सघाउँछ भन्ने हो ।
कोभिड–१९ का कारण अमेरिकामा पहिलो व्यक्तिको मृत्युपश्चात् विस्तारै यसका संक्रमितहरू बढ्न थाले । त्यसको २ महिनापछि संक्रमित र मर्नेको संख्या बढ्ने क्रम झन् तीव्र भयो । हरेक ३ दिनमा संक्रमितको संख्या यसैगरी दोब्बर बन्दै गयो भने मेसम्ममा अमेरिकामा संक्रमितको संख्या १० करोड नाघ्ने विज्ञहरूले प्रक्षेपण गरेका छन् ।

कोरोना भाइरस मात्रै होइन, यस्ता सरुवा रोग संक्रमितको सम्पर्क आएपछि सर्छ र फैलँदै जान्छ । अतः मानिसको भीडबाट आफूलाई पर राख्नु नै यसबाट जोगाउने उपाय भएको विज्ञहरू औंल्याउँछन् । मानिसले आफूलाई धेरै जमघट हुने ठाउँबाट टाढा राखे, आवतजावत सीमित बनाएमा संक्रमण फैलने क्रम रोकिने उनीहरूको बुझाइ छ ।
यस्तो किन हुन्छ त भनेर बुझ्न वाशिङ्टन पोस्टका ह्यारी स्टिभन्सले ‘सिमुलिटस’ (नक्कली रोग)को प्रयोग गरेका थिए । यसमा कुनै स्वस्थ मानिस बिरामीको सम्पर्कमा आउँदा ऊ कसरी बिरामी हुन्छ र एवम् रीतले रोग कसरी फैलिन्छ भन्ने देखाइएको थियो ।

प्रयोगका क्रममा सबैलाई आवतजावत गर्न दिने, क्वारेन्टाइनको प्रयास, मध्यम खालको सामाजिक दूरी र व्यापक सामाजिक दूरी प्रयोग गरियो । यी सबैको नतिजा एकदम फरक पाइयो । (नतिजा माथिको चित्रमा देखाइएको छ ।) आवतजावत सबैका लागि खुला गरिँदा संक्रमण व्यापक भयो ।

क्वारेन्टाइनको प्रयासले अलिअलि काम त गर्यो तर असफल भयो । यस्तो खालको लकडाउन कहिल्यै प्रभावकारी नहुने जर्जटाउन विश्वविद्यालयका विश्व स्वास्थ्य कानूनका प्रध्यापक लरेन ओ गोस्टिन भन्छिन् । मानिसले माने भने सामाजिक दूरीले निकै राम्रोसँग काम गर्छ । संक्रमण नियन्त्रण नै गर्ने हो भने व्यापक सामाजिक दूरी उपयोगी हुने परीक्षणमा पाइयो ।

तर यसले दैनिक उपभोग्य वस्तुको आपूर्ति कसरी गर्ने भन्ने जस्ता प्रश्नको सम्बोधन भने गर्दैन । महामारी सुस्त पार्ने अन्य उपायहरू पनि छन् । मानिसहरूलाई सार्वजनिक स्थलमा जम्मा नहुन, घरभित्रै बस्न, अन्य मानिससँग दूरी कायम गर्न प्रेरित गरियो र उनीहरूले कम आवतजावत गरे, एक अर्कासँग थोरै अन्तरक्रिया गरे भने पनि भाइरस फैलने सम्भावना कम हुन्छ । तर सबै मानिसहरू यसरी थुनिएर बस्छन् त ? अवश्य बस्दैनन् । घरका लागि चाहिने अत्यावश्यक वस्तु किन्न वा त्यस्तै महत्वपूर्ण कामका लागि मानिसहरू पक्कै घरबाहिर निस्कन्छन् । उनीहरूले सार्वजनिक स्वास्थ्यको बारेमा दिइएको चेतावनी सुन्दैनन् । यी मानिसहरू आफू त बिरामी पर्छन् नै यिनीहरूले रोग फैलाउन सम्भावना पनि धेरै हुन्छ ।

एक व्यक्तिको व्यवहारले लहरे प्रभाव उत्पन्न गराउँछ अनि यसले टाढाको मानिसलाई समेत छुन्छ । चीनको अनुकरण गर्दै अहिले विश्वभर अत्यावश्यक बाहेकका सबै सेवा बन्द भइरहेका छन् । भेटघाटको अवसर कटौती गर्दा मानिसलाई सामाजिक दूरी कायम गर्न मद्दत मिल्ने र संक्रमण घट्ने बताउँछन् थोमस जेफर्सन युनिभर्सिटी कलेज अफ पब्लिक हेल्थका जनसंख्या स्वास्थ्य अनुसन्धाता तथा उप–प्रध्यापक ड्रिउ ह्यारिस ।

विचार गर्नुपर्ने कुरा यी सिमुलिटस वास्तविकता होइन । यसले सरुवा रोग कसरी सर्छ भन्ने मात्रै देखाउँछ । यसबाट मान्छे पनि मर्दैन तर कोभिड–१९ बाट भने मरिरहेका छन् । कोभिड–१९ को मत्युदर ठ्याक्कै यति हो भनेर भन्न सकिएको छैन । तर यसका कारण वृद्धवृद्धा धेरै मरिरहेका छन् । यसको जोखिममा उनीहरू बढी भए पनि बालबालिका र युवा पनि जोखिममुक्त छैनन । सामाजिक दूरी नै संक्रमण कम गर्ने एक मात्रै उपाय भएको चीनको अनुभवले पनि प्रमाणित गरिसकेको छ । (वाशिङ्टन पोस्टमा प्रकाशित विवरणमा आधारित)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x