Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुर्खेतमा पीपीईको उत्पादन शुरू

सुर्खेतमा पीपीईको उत्पादन शुरू

वीरेन्द्रनगर, चैत २४ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना भाइरस परीक्षण तथा संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई)को उत्पादन शुरू गरिएको छ । भाइरसको परीक्षणका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्रीको अभाव भइरहेको बेला सुर्खेतमै यसको उत्पादन शुरू गरिएको हो ।
वीरेन्द्रनगरमा रहेका मुनाल गार्मेन्ट उद्योग र देउती होजियारीले पीपीई उत्पादन गर्न थालेका छन् । केन्द्र सरकारले उपलब्ध गराए पनि पर्याप्त नभएकाले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्थानीयस्तरमै पीपीई तयार गर्न निर्देशन दिएको थियो ।
सामाजिक विकासमन्त्री दल रावल र प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा. नवराज केसीसँग समन्वय गरेर पीपीई उत्पादन शुरू गरिएको मुनाल गार्मेन्ट उद्योगका सञ्चालक भानुभक्त खड्काले बताए ।
सञ्चालक खड्काले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूले प्रयोग गर्ने गरी तत्काललाई दुई हजार थान गाउन तयार गरिरहेको जानकारी दिए । लकडाउनका कारण कच्चापदार्थ ढुवानीमा समस्या भएको उनको भनाइ छ । ‘यद्यपि सरकारसँग समन्वय गरी कच्चापदार्थ मगाउने काम भइरहेको छ,’ उनले भने । कामदारको सुरक्षासहित उद्योग सञ्चालन गरिएको उनको भनाइ छ । हालसम्म ५०० थान तयार गरिसकेको उनले बताए । प्रदेश अस्पतालका चिकित्सकको निर्देशनमा शतप्रतिशत गुणस्तरीय पीपीई तयार गरिएको दाबी उनले गरे ।
नेपाली सेनाका लागि आएको पीपीईको नमूना हेरेर कालिगडले स्वास्थ्यकर्मीका लागि पीपीई तयार गरिरहेका छन् । प्रदेश अस्पतालका चिकित्सक डा. केसीले पीपीई नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर कोरोना भाइरसको सम्भावित संक्रमण जाँच गरिरहेको बताए । अप्ठ्यारो परिस्थितिमा स्थानीय गार्मेन्टहरूसँग समन्वय गरेर पीपीईको उत्पादन शुरू गरिएको सामाजिक विकास मन्त्रालयको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x