म्याग्दीमा सडकमै गरियो तालाबन्दी
म्यग्दी, २५ चैत । म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मुल सडकमै स्थानीय जनप्रतिनिधिको रोहवरमा स्थानीयले भोटेताल्चा लगाएका छन् । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमबाट जोगिन मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा सडकमै ताल्चा लगाएर स्थानीयले आवतजावत रोकेका हुन् ।
आपत्कालीन बाहेक आवतजावत बन्द गरिएको मालिका गाउँपालिका वडा नं ६ दरबाङका वडा अध्यक्ष सन्तनाथ सुवेदीले बताए । लुकिछिपी आवतजावत बढेपछि म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरबाङबजार नजिकै छ्यारछ्यारेमा फलामे बार राखेर ताल्चा लगाइएको उनले जानकारी दिए ।
पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकासँगै छिमेकी बागलुङ र रुकुम जिल्लाबाट आवतजावत नरोकिएपछि आसन्न खतराबाट बच्न सडकमै ताल्चा लगाएर बन्द गर्नुपरेको अध्यक्ष सुवेदीले बताए ।
‘रातिको समयमा सवारीसाधनमै लुकीछिपी हिँड्ने गरिएको छ,’ ‘अत्याआवश्यक अवस्थामा बाहेक मान्छेहरूलाई ओहोरदोहोर गर्न रोकेका छौं,’ अध्यक्ष सुवेदीले भने । मालिकासँगै बागलुङको तमान, लाम्मेला र रुकुमबाट समेत मान्छेहरू आउन थालेकाले बाध्य भएर आवागमनमा कडाइ गर्नुपरेको दरबाङका समाजसेवी गोपाल रेग्मीले बताए ।
बेनी–दरबाङ सडकमा तगारो लगाइएसँगै युवाहरूले नियमित गस्ती समेत गर्ने रेग्मीले जानकारी दिए । वडाअध्यक्ष सुवेदीका अनुसार एक गाउँबाट अर्काे गाउँ जान–आउन समेत अवरोधलाई थप कडाई गर्ने गरी प्रहरी सहित ६ जना युवा खटाइएको छ । छिमेकी जिल्लाहरूको कारण दरबाङ समेत जोखिममा परेपछि स्थानीयले बिरामी र अत्यावश्यक काम परेकालाई सहज हुनेगरी वडा अध्यक्ष सुवेदी, इलाका प्रहरी कार्यालय र लायन्स क्लब अफ दरबाङका पूर्वअध्यक्ष स्थानीय हीरा पुनलाई चावी दिइएको छ । सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रवेशमा रोक लगाउने निर्णयसँगै म्याग्दीका स्थानीय तहले समेत कडाइ गरेका छन् ।