नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा खुम्चन सक्ने

काठमाडौं, ३० चैत। विश्व बैंकले कोरोना महामारीका कारण नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतदेखि २.८ प्रतिशतको बीचमा रहन सक्ने प्रक्षेपण गरेको छ । कोरोनाका कारण विश्वभर एक लाख भन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको, यो बढ्दो क्रममा रहेकाले अन्य देशहरुमा झै नेपालले पनि स्वास्थ्य संकटकाललाई सम्बोधन गर्न अत्यावश्यक कदमहरु चाल्न सुझाइएको छ । जोखिममा रहेका जनसंख्यालाई जोगाउनु, अर्थतन्त्र पुनःस्थापना गर्न सरकारले कुनै कसर बाँकी नराख्न विश्व बैंकले भनेको छ ।

वर्षमा दुई पटक प्रकाशन हुने साउथ एसिया इकोनोमिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले भनेको छ, ‘दक्षिण एसियाका आठै देशले ठूलो गिरावट ब्यहोर्नेछन् । यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र भारतीय अर्थतन्त्र खुम्चदा क्षेत्रीय आर्थिक वृद्धिदर कमजोर हुनेछ ।’

यसले सबै आर्थिक गतिविधि, व्यापार, रेमिट्यान्समा असर पारेको छ भने सबैभन्दा ठूलो दबाब बैंकिङ क्षेत्रमाथि सिर्जना गरेको छ । दक्षिण एसियाको आर्थिक वृद्धिदर १.८ देखि २.८ प्रतिशत हुने अनुमान छ । ६ महिनाअघि ६.३ प्रतिशतको आर्थिक वृद्धिदर अनुमान गरिएको थियो ।

पछिल्लो ४० वर्षमा यो सबैभन्दा खराब अवस्था रहेको विश्व बैंकले जनाएको छ । दक्षिण एसियाका धेरै जसो देश लकडाउनमा छन् । आगामी वर्ष भने ३.१ देखि ४ प्रतिशत आर्थिक वृद्धिदर हुनसक्छ, यसअघि आगामी वर्षलाई ६.७ प्रतिशत आर्थिक वृद्धिदर आँकलन गरिएको थियो । महामारी लम्बिएसँगै नेपालमा पनि व्यापार, सेवा र औद्योगिक क्षेत्रमा तीव्र संकुचन आइरहेको छ । कोरोना भाइरसका कारण सिर्जित महामन्दीको चपेटामा परेको अर्थतन्त्र पुनरुत्थानका लागि २०२२ सम्म पर्खनुपर्ने विश्व बैंकको भनाइ छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *