Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

चैत र असारको किस्ता एकैपटक तिर्न नसक्नेलाई के गर्ने ?

चैत र असारको किस्ता एकैपटक तिर्न नसक्नेलाई के गर्ने ?

काठमाडौं, २ वैशाख । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका ऋणीहरुलाई चैतको किस्ता पनि आर्थिक वर्षको अन्त्यमा अर्थात् असार मसान्तमा तिर्न सकिने व्यवस्था गरेको छ । कोरोना भाइरसको महामारी लम्बिरहेको र एक महिना लकडाउन गर्नुपर्ने निश्चित जस्तै छ । व्यवसायमा संकुचनका कारण ऋणीहरुले चैत र असारको किस्ता एकैपटक तिर्न मुश्किल देखिन्छ ।

यस्तो समयमा पहिलो प्राथमिकता संक्रमणबाट बच्नु नै रहेको छ । आर्थिक गतिविधि पुनः खुला गर्ने निश्चय नहुँदा ऋणीहरुले समयमा साँवा ब्याज भुक्तानी गर्न नसक्ने भएकाले उनीहरुलाई थप समय दिने सम्बन्धमा नेपाल राष्ट्र बैंकले गृहकार्य गरिरहेको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा गभर्नर अधिकारीले बैंक तथा वित्तिय संस्थाका ऋणीहरुलाई कुनै न कुनै रुपले समय र छुट उपलब्ध गराउनुपर्ने अवस्था आउनेप्रति आफू सचेत रहेको बताएका छन् । ‘यसका लागि राष्ट्र बैंकले काम गरिरहेको छ, राष्ट्र बैंकले या समग्र प्रणालीले केही सम्झौता गर्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘यस्ता सम्झौताले वित्तिय स्थायित्व र आर्थिक स्थायित्वलाई चुनौती दिन्छ ।’
साना मझौला उद्यम र पर्यटन व्यवसाय जस्ता इन्भेन्ट्री नभएका व्यवसायलाई पुनः स्थापनाका लागि केही सहयोग दिनुपर्ने अवस्थाको उनले संकेत गरेका छन् । ‘चुनौती गहन छन् र त्यसलाई सामना गर्न हामी प्रयासरत छौं,’ उनले अगाडी भने ।

राष्ट्र बैंकले लकडाउन सुरु भएलगत्तै चैत मसान्तको ऋणको साँवा ब्याज तिर्ने अवधि थपेको थियो । कोरोनाका कारणले परेको असरलाई बाहिर ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने र अर्थमन्त्रालयको नेतृत्वमा काम भइरहेको गभर्नर अधिकारीको भनाइ छ । चैत र असारको दुवै किस्ता एकैपटक तिर्नुपर्दा ऋणीलाई ठूलो भार पर्ने र कोरोनाले धेरै असर पारेका व्यवसायका सम्बन्धमा अध्ययन भइरहेको उनले बताए ।

उनले मूल्यवृद्धि, आर्थिक वृद्धिदर, रेमिट्यान्स घट्दा विदेशी विनिमय सञ्चिति घट्न सक्ने र आयात खुम्चिने उनले बताए । उनले चुनौतीपूर्ण र कठिन परिस्थितिसँग जुझेर संकटमा पनि धेरै काम गरेर नतिजा दिन सकिने बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x