औषधि, उपकरण खरिदमा सघाउन चीनसँग आग्रह
काठमाडौं, २ वैशाख । सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ । सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले बताएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले अपनाएका उपाय तथा त्यसको द्रुत परीक्षणका लागि नेपालभर औषधि र उपकरणको व्यवस्था गर्नुपर्ने भएकाले सरकार–सरकार (जीटुजी) आधारमा औषधि, उपकरण खरिदमा सहयोग र सहजीकरणको आग्रह मन्त्री ज्ञवालीले गरेका हुन् ।
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले तत्काल चालेको सुदृढ कदमको चिनियाँ विदेशमन्त्रीले प्रशंसा गर्दै त्यसमा आफ्नो देशको सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै सरकार–सरकार (जीटुटी)बीच औषधि, उपकरण खरिदमा सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए । दुवै देशका विदेशमन्त्रीले विद्यमान द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउनेबारेमा पनि विचारविमर्श गरेका थिए ।