क्यान इन्फोटेक मेलामा युवा वर्गको आकर्षण
काठमाडौं, १४ माघ । राजधानीको भृकुटीमण्डपमा जारी सुबिसु क्यान इन्फोटेक मेलामा अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको छ । सूचना, प्रविधिबारे जानकारी दिने उद्धेश्यले गतशुक्रबार देखि आयोजना गरिएको मेलामा हिजो शनिवार अवलोकनकर्ताको निकै भिड लागेको थियो ।
मेलामा अवलोकनका लागि विशेषगरि युवाहरुको उपस्थिती उल्लेख्य छ । एकै ठाँउवाट सुचना तथा सञ्चार प्रविधिका नयाँ–नयाँ उपकरणहरुको अवलोकन तथा खरिद गर्न पाउने हुँदा सर्वसाधारणको सहभागिता रहेको हो । २ सय २२ वटा स्टल रहेको उक्त मेलामा कम्प्यूटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, डिलर र डिस्ट्रिब्युटर्स, मोबाइल एक्सेसरिज, इन्टरनेट सेवा प्रदायक कम्पनी, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सका स्टलहरु रहेका छन् ।
अनलाइन टिकट खरिद गरेबापत २० प्रतिशत छुटको समेत व्यवस्था रहेको उक्त मेलामा सर्वसाधारण अवलोकन कर्ताका लागि रु १ सय र विद्यार्थी वर्गका लागि रु ५० रुपैयाँ प्रवेश शूल्क तोकेको छ ।