अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त, रिरुट गरेर सामान ल्याइँदै
काठमाडौं, ७ वैशाख । सरकारले खाद्यान्न, दाल तथा गेडागुडी, तेल, चिनी, नुन, औषधी, दूध, फलफूल तथा तरकारीको मौज्दात पर्याप्त रहेको र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन आयात पनि भैरहेको बताएको छ । भारतले काकटभिट्टा पट्टीको रुट बन्द गरेपछि पानी ट्यांकी मार्गबाट आउने र अड्केर बसेका ट्रकहरुलाई विराटनगर हुँदै ल्याइएको छ ।
विगतमा असहज परिस्थिति उत्पन्न हुनेबित्तिकै आपूर्तिमा असर पर्ने गरेको पक्षलाई दृष्टिगत गर्दै सरकारले आपूर्ति सहजता र प्रभावकारिता कार्यविधि अनुसार काम गर्दै आएको जनाएको छ । सरकारले लकडाउनमा आपूर्ति श्रृंखला नबिग्रियोस् भनेर मुलुकभित्र ढुवानी गर्ने र वस्तु आयात गर्ने क्रमलाई तीव्रता दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताए ।
लकडाउन शुरु भएको वैशाख ३ यता साढे ५७ हजार टन खाद्यान्न, १७,५३० टन दाल, गेडागुडी, ३१ हजार टन तरकारी १३० टन दूग्धजन्य जस्तु, साढे सात हजार टन फलफूल आयात भएको छ । त्यस्तै, यसबीचमा तयारी औषधी र औषधीको कच्चा वस्तु, मास्क, स्यानिटाइजर, पञ्जा आदि वस्तुहरु गरी जनस्वास्थ्य सामग्री १ अर्ब रुपैयाँ बराबरको आयात भैसेकेको छ ।
सरकारले निजी क्षेत्रसँग समेत समन्वय गरी मौज्दात र आपूर्ति व्यवस्था प्रभावकारी राख्न काम गर्दै आएको छ । पानी ट्यांकीमा रोकिएका ट्रकहरुलाई धमाधम विराटनगर हुँदै ल्याइएको छ । भैरहवा, वीरगन्जका दुई नाका एकीकृत जाँचचौकी र एकमात्र रेल जडित सुख्खा बन्दरगाह सञ्चालनमा छन् भने विराटनगर एकीकृत जाँचचौकीमार्फत् सहज ढुवानी भैरहेको छ ।
सरकारले कोरोना महामारीको जोखिमका आधारमा अहिले भारत र चीन दुवैतिर मालबहाक सवारी साधनबाहेक मानिसहरुको आवतजावत बन्द गरेको छ ।