श्री एयरलाइन्सको जहाजले सिंगापुरबाट ल्यायो स्वास्थ्य सामग्री
काठमाडौं, १२ वैशाख । र श्री एयरलाइन्सको जेट जहाजले आज सिंगापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको कलसाइन नाइनएन एएमबी सिआरजे ७०० जहाज बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ ।
बिहीबार बिहान सिंगापुर प्रस्थान गरेको श्रीको जहाज हिजै साँझ फर्कने तालिका रहे पनि प्रतिकूल मौसमका कारण आज फर्किएको हो । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्रीले चार्टर्ड उडानमार्फत सिंगापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको हो ।
जहाजले सरकारी ५० केजी र कमर्सियल कार्गो ११९ केजी स्वास्थ्य सामग्री ल्याएको छ । यी दुवै सामग्री निजी क्षेत्रले स्वास्थ्य मन्त्रालयका लागि ल्याएको हो । ती सामग्री आएसँगै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको कम्पनीले बताएको छ ।