Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राहतका लागि राष्ट्र बैंकको अध्ययन प्रतिवेदन पर्खने बैंकर्स संघको निर्णय

राहतका लागि राष्ट्र बैंकको अध्ययन प्रतिवेदन पर्खने बैंकर्स संघको निर्णय

काठमाडौं, १२ वैशाख । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले राहत ल्याउन कोरोना भाइरस तथा लकडाउनको प्रभाव अध्ययन गर्न बनेको राष्ट्र बैंकको समितिको निर्णय पर्खने भएको छ । नेपाल बैंक तथा वित्तीय संस्था परिसंघले उद्यमी व्यवसायीको राहतसम्बन्धी विभिन्न निर्णय गरेपछि बिहीवार भिडियोमार्फत सम्पन्न बैंकर्स संघको कार्यसमितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

राष्ट्र बैंकले कोरोनाको असरबारे समिति नै बनाएर अध्ययन गरिरहेकाले समितिको अध्ययन अनुसार नै राहत ल्याउने पर्खाइमा रहेको संघले बताएको छ ।
मंगलवार बैंक तथा वित्तीय संस्था परिसंघले गत वैशाखसम्म किस्ता तथा ब्याज भुक्तानी गर्नेलाई १० प्रतिशत ब्याज छूटदेखि १ प्रतिशत ब्याजदर घटाउने, बैंकहरूको चालू तथा सञ्चालन खर्च घटाउने जस्ता निर्णय गरेको थियो । तर, बैंकर्स संघले यसलाई लागू गर्नभन्दा पनि राष्ट्र बैंकको नीतिगत व्यवस्था पर्खन चासो देखाएको छ ।

संघले निक्षेपको ब्याजदर वैशाख १ गतेदेखि घटाएको छ । संघले बैंकको निक्षेपको ब्याज घटेपछि अब जेठदेखि आधार दर पनि कम हुने र यसैको आधार दरमा ऋणको ब्याज घटाउने सहमति गरेको बताइएको छ । संघका अध्यक्ष भुवनकुमार दाहालका अनुसार बैठकमा कोरोनाले बैंकिङ क्षेत्रमा पारेको असर, लकडाउन खोलेपछि कसरी काम गर्नेलगायत विषयमा समेत छलफल भएको छ ।

‘कोभिड–१९ भाइरसको संक्रमणले नेपाली अर्थतन्त्रमा पर्न सक्ने असर र आवश्यक नीतिगत उपायका सम्बन्धमा अध्ययन गर्न गठित कार्यदल’ नाम दिइएको उक्त समितिले वैशाखभित्र प्रतिवेदन बुझाउन निर्देशन पाएको छ । कार्यदलका संयोजक एवं राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार सरोकारवालासँग छलफल गरी कोरोनाले अर्थतन्त्रमा पारेको असर र निदानका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव दिनेछ । सुझावका आधारमा कोरोना प्रभावितलाई राहतका लागि आवश्यक नीतिगत व्यवस्था गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x