निजगढ अन्तरराष्ट्रिय विमानस्थल : पहुँच सडकका लागि रूख कटान प्रक्रिया अघि बढाउँदै समिति
काठमाडौं, २९ वैशाख । निर्माण प्रक्रियाका विभिन्न विषय विवादित बन्दै आएको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्ने संकेत देखिएको छ । विमानस्थल निर्माणमा अन्तरनिकाय समन्वयसम्बन्धी उच्चस्तरीय सहजीकरण समितिको आइतवार बसेको पाँचौं बैठकले पहुँच सडकका लागि ४ हजार २३२ रूख काट्नुपर्ने आँकडा निकाल्दै यसको प्रक्रिया समेत अघि बढाउने निर्णय गरेको हो । विमानस्थल परिसर सडकका लागि तोकिएको क्षेत्रमा उक्त संख्यामा रूख कटान गर्नुपर्ने देखिएको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
रूख कटान प्रक्रियाअन्तर्गत रूख कटानको स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले यथाशीघ्र नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष प्रस्ताव पेश गर्ने निर्णय समितिले निर्णय गरेको छ । निजगढ विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री संयोजक रहने गरी उच्चस्तरीय सहजीकरण समिति बनाइएको छ । समितिले विमानस्थल निर्माण क्षेत्रभित्रका रूख तथा पोलको लगत नम्बरिङ कार्यसमेत तत्काल अघि बढाउने निर्णय गरेको छ ।
समितिको चौथो बैठकले गत २०७६ माघ २ मा बस्ती स्थानान्तरण सम्बन्धमा निर्णय गर्न कार्यदल गठन गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणअन्तर्गत राष्ट्रिय गौरवको आयोजना हेर्ने निर्देशकसमेतको प्रतिनिधित्व हुने गरी गठन कार्यदलले आफ्नो कार्य जिम्मेवारीबमोजिमका कार्य यथाशीघ्र अगाडि बढाई त्यसको प्रगति प्रतिवेदन १० दिनभित्र समितिसमक्ष पेश गर्ने निर्णयसमेत भएको छ ।
विमानस्थल निर्माण गर्न लगानी बोर्डले निश्चित समयसीमा तोकी जुरिच इन्टरनेसनलसँग सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलको प्रस्ताव माग गर्ने र सम्झौता प्रक्रिया पूरा गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । समितिले प्राधिकरणबाट निजगढ विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रियासमेत छिटो सक्न निर्देशन दिएको छ ।