Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

२ लाख नेपाली तत्काल नेपाल फर्कन चाहन्छन्, युएईले भन्यो–‘चार्टर्ड जहाजमा पठाउँछौं’

२ लाख नेपाली तत्काल नेपाल फर्कन चाहन्छन्, युएईले भन्यो–‘चार्टर्ड जहाजमा पठाउँछौं’

काठमाडौं, ३० वैशाख । विदेशमा रोजगारी गुमाएका र अलपत्र परेका ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्कन चाहेका छन् । सरकारले विभिन्न दूतावासमार्फत् संकलन गरेको तथ्यांकमा २ लाख १० हजार ८७९ नेपालीले बन्दाबन्दी खुलेलगत्तै नेपाल फर्कने इच्छा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीचमा, सांसद् गगन थापाले संघीय संसद्मा नेपालीलाई स्वदेश फर्काउने सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

तर सरकारले ठूलो संख्यामा क्वारेन्टिन, परिक्षण सुविधा लगायतको प्रबन्ध गरिनसकेकाले तत्काल सबैलाई फिर्ता ल्याउन कठिन भैरहेको जनाएको छ । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सोमबार बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २ लाख १० हजार ८७१ नेपालीलाई तत्काल उद्धार गरेर स्वदेश ल्याउनुपर्ने र बाँकी ३ लाख ७७ हजार भन्दा बढीलाई पनि नेपाल ल्याउनुपर्ने अवस्था रहेको जानकारी दिए । त्यसरी तत्काल स्वदेश फर्किनेमा ठूलो संख्यामा वैदेशिक रोजागारीमा गएका र रोजगारी गुमेकाहरू छन् ।

त्यसैगरी, नियमित रूपमा स्वदेश आउन चाहेका तर हवाइ उडान बन्द भएर रोकिएका, भीसा सकिएका, पर्यटकका रूपमा विदेश गएर अड्किकाहरू रहेको ज्ञवालीले जनाए । भारतबाट स्वदेश फर्किनेको संख्या साढे २ लाख रहेको मन्त्री ज्ञवालीले जनाए । स्वदेश फर्किन चाहनेहरूलाई सम्बन्धित मुलुकले विमान चार्टर गरेर नेपाल पुर्‍याउन खोजेको पनि मन्त्री ज्ञवालीले बताए । श्रम गन्तव्य मुलुक यूएईले नेपाली कामदारलाई आफैं विमानमा पुर्‍याउने अनुमति माग्दै सरकारलाई पत्र लेखेको उनले जानकारी दिए । यूएईले त्यसरी नेपालीलाई फर्काउन अनुमति माग पनि क्वारेन्टाइन लगायतको व्यवस्था नगरी अनुमित दिन सकिने अवस्था नरहेको उनको भनाइ थियो ।

विदेशबाट आउनेहरूलाई कसरी व्यवस्थापन गर्ने भनेर सरकारले तयारी र अध्ययन गरिरहेको उनले जानकारी दिए । ुविदेशबाट आउनेको प्रभाव अर्थतन्त्र र अन्य क्षेत्रमा कत्तिको पर्छ भन्ने यकिन छैन । मुलुकको अर्थतन्त्रमा ठूलो प्रभाव पर्नसक्ने आाकलन छ,ु उनले भने, ुयसको बारेमा अध्ययन गर्नका लागि योजना आयोगका सदस्यको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधिसम्मिलित समिति बनेको छ ।

त्यस्तै, विदेशबाट उद्धार गर्दा प्राथमिकता निर्धारण गर्नका लागि कार्यदल गठन गरिएको पनि मन्त्री ज्ञवालीले जानकारी दिए । कुन देशमा रहेका नेपालीलाई प्राथमिकतामा राख्ने, कस्तो समस्यामा रहेकालाई पहिला उद्दार गर्ने भन्नेबारे उक्त कार्यदलले निर्धारण गर्नेछ । विदेशबाट ल्याएकालाई एयरपोर्टमा कसरी व्यवस्थापन गर्ने, कहाँ क्वारेन्टाइनमा राख्ने, प्रदेश र स्थानीय तहका क्वारेन्टाइनसम्म कसरी पुर्‍यााउने भन्नेबारे सरकारी संयन्त्रहरूले योजना बनाइरहेको बताइएको छ । ’सबैलाई काठमाडौं उपत्यकामा व्यवस्थापन गर्न नसकिने भएकाले प्रदेश र स्थानीय तहसम्म कसरी लैजाने र व्यवस्थापन गर्ने भन्नेबारे काम भइरहेको छ,’ मन्त्री ज्ञवालीले भने । त्यसैगरी, विदेशबाट ल्याइएकाहरूलाई क्वारेन्टाइनमा राखेर बाहिर निकालेपछि श्रम क्षेत्रमा कसरी जोड्ने भन्नेबारे पनि सरकारी कार्यदलले काम गरिरहेको उनले जानकारी दिए ।

विदेशबाट ल्याएकाहरूलाई व्यवस्थापन गर्नका लागि प्रदेशपिच्छे ५० हजार क्षमताको क्वारेन्टाइन बेड संख्या बढाउने सरकारको तयारी छ । सकेसम्म विदेशमा रहेका नेपालीलाई समस्या नहुने अवस्थासम्म विदेशमै बस्न प्रेरित पनि सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोगहरूले गरिरहेका छन् । भारतबाट आउनेको संख्या ठूलो भएकाले समस्या थपिने सरकारको आँकलन छ । भारतबाट आउनेलाई सोझै आउनदिए नेपालले व्यवस्थापन गर्न निकै कठिन हुने मन्त्री ज्ञवालीको भनाइ छ । भारतबाट ठूलो संख्यामा नेपाल आउने नागरिक रहेकाले उनीहरूलाई नियन्त्रित रूपमा ल्याउन सरकारले तयारी गरिरहेको छ । भारतका कुन ठाउँमा कति नेपाली छन् र उनीहरू कसरी आइरहेका छन् भन्ने सरकारसँग कुनै यकिन विवरण नभएको पनि समस्या भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x