Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अर्थमन्त्रीले भने, ‘आनकातान सबै प्राथमिकता परिवर्तन हुँदैनन्’

अर्थमन्त्रीले भने, ‘आनकातान सबै प्राथमिकता परिवर्तन हुँदैनन्’

काठमाडौं, ३० वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको महामारीका कारण उत्पन्न जनस्वास्थ्य संकट सम्बोधन गर्न गुणस्तरीय स्वास्थ्य पूर्वाधार विकास, अर्थतन्त्रमा परेको असर न्यूनीकरण, रोजगारी सिर्जना, प्रविधिको उच्चतम उपयोगलाई प्राथमिकीकरण गर्दै बजेट ल्याउने विनियोजन विधेयक, २०७७ का सिद्धान्त र प्राथमिकता पुरानो भएको धारणा राख्ने सांसद्हरुलाई यसको कारण सम्झाएका छन् ।

सोमबारबाट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि संसद्मा छलफल शुरु भएको छ । उक्त छलफलमा सांसद्हरुले सिद्धान्त र प्राथमिकताले पुरानै ढर्रामा बजेट आउन लागेको धारणा राखेपछि अर्थमन्त्री खतिवडाले त्यसलाई सम्बोधन गरेका हुन् ।

‘हामीले खास लक्ष्य प्राप्तिका लागि विगतदेखि नै सञ्चालन गर्दै आएका योजना र कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेछ । यसलाई बीचमा अलपत्र छाडेर अघि बढ्न सक्ने अवस्था छैन,’ अर्थमन्त्री खतिवडाले सांसद्हरुको टिप्पणीलाई लक्षित गर्दै संसद्मा भने, ‘आनकातान नयाँ प्राथमिकता निर्धारण गरेर हामी कहीं पुग्दैनौं । संवृद्ध नेपाल, सुखी नेपालीको हाम्रो लक्ष्य प्राप्तिका लागि अघि बढाइएका सबै कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।’

उनले यसका अतिरिक्त विद्यमान परिस्थितिमा नयाँ प्राथमिकताहरु पनि समावेश गरेर अघि बढाइएको बताए । उनले कोरोना भाइरस प्रभावित अर्थतन्त्रलाई पुनरुत्थानलाई प्राथमिकता दिएका छन् । व्यवसायीलाई कर लगायत सहुलियत दिने उल्लेख गरेका छन् । त्यस्तै, नयाँ आयोजना भन्दा पनि पुरानालाई चाँडै सम्पन्न गर्ने प्राथमिकता निर्धारण गरेका छन् । सिद्धान्तका सम्बन्धमा भने अर्थमन्त्रीले बजेटका सिद्धान्तलाई कम्युनिष्ट पार्टीको सिद्धान्तले मार्गदर्शन गर्ने बताए । ‘अहिले नेपाल कम्युनिष्ट पार्टीको सरकार छ । हाम्रो पार्टीकोतर्फबाट मैंले तेश्रो बजेट प्रस्तुत गर्दैछु,’ अर्थमन्त्रीले भने, ‘पार्टीका सिद्धान्त अहिले परिवर्तन भएका छैनन् । हरेक वर्ष परिवर्तन हुने कुरा पनि हुँदैन । त्यसकारण सोही सिद्धान्तमा आधारित रहेर बजेट निर्माण हुने हो ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x