Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोरोना र लकडाउनले डिजिटल बैंकिङमा बढ्दो आकर्षण

कोरोना र लकडाउनले डिजिटल बैंकिङमा बढ्दो आकर्षण

काठमाडौं, ३० वैशाख । नेपाली बैंकिङ क्षेत्र डिजिटल प्रणाली जान शुरू गरेको धेरै भएको छैन । १०–१५ वर्ष अघिसम्म पनि हरेक बैंकिङ सेवा तथा सूचना लिन कार्यालयसम्मै पुग्नुपर्ने अवस्था थियो । पेपरलेस प्रणालीको अवधारणासहित यसबीचमा बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न प्रविधि भित्र्याए । आधुनिक प्रविधिको प्रयोगसँगै परम्परागत पद्धतिलाई प्रविधिमा आधारित सेवा दिन शुरू गरियो ।
बैंकहरूले हाल आफ्ना ग्राहकलाई एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, पीओएस मेशिन, आरटीजीएस, आईपीएस, ईसीसी आदिमार्फत डिजिटल सेवा दिइरहेका छन् । यससँगै अनलाइन पेमेन्ट गेटवेहरू पनि बढ्दै गएका छन् । तर प्राविधिक साक्षरताको कमी, स्तरीय पूर्वाधार अभाव लगायत कारण सुस्त बनिरहेको डिजिटल बैंकिङमा पछिल्लो समय भने आकर्षण बढेको छ ।
कोरोना भाइरस प्रकोप र यसको रोकथामका लागि गरिएको लकडाउनपछि डिजिटल बैंकिङ कारोबार बढेको हो । विश्व तथा मुलुक कोरोना भाइरसको प्रकोपबाट आक्रान्त भइरहेकाले अत्यावश्यक बाहेक अन्य व्यावसायिक कारोबार विगत डेढ महिनादेखि ठप्प छन् । लकडाउनको अवधिभर बैंकहरूले जुनसुकै डिजिटल कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका छन् । पछिल्लो समय बैंकका ग्राहकले एक खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्न, मोबाइल, बिजुली, खानेपानी, इन्टरनेट लगायतको बिल भुक्तानी गर्नसमेत डिजिटल माध्यमलाई प्रयोग गरेका छन् ।
मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङले पनि भुक्तानी प्रणालीलाई सहज बनाएकाले यसतर्फ आकर्षण बढ्न थालेको हो । बैंक तथा वित्तीय संस्थाका साथै ई–सेवा, आईएमई पे, ई–खल्ती जस्ता मोबाइल वालेटहरूले गर्दा विद्युतीय भुक्तानी सहज बन्न थालेको छ । पछिल्लो कनेक्टआईपीएसमार्फत भुक्तानी गर्ने प्रचलन बढ्दो छ । यसले परम्परागत भुक्तानी प्रणाली र चेकलाई समेत विस्थापित गर्न सक्ने देखिन्छ । अहिले बैंक तथा वित्तीय संस्थाहरूले पनि नगदरहित बैंकिङ कारोबारमा जोड दिएका छन् । पछिल्लो समय मोबाइल तथा इन्टरनेट बैंकिङ, डेबिट, क्रेडिट तथा प्रिपेड कार्डका ग्राहकको संख्या करीब १ करोड ८२ हजार पुगेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो समय बैक तथा वित्तीय संस्थामा करीब ३ करोड ११ लाख १२ हजार निक्षेप खाता सञ्चालनमा छन् । यसमध्ये डिजिटल कारोबारमध्ये मोबाइल बैंकिङको प्रयोगकर्ता बढी छन् । कुल निक्षेपकर्तामध्ये ९८ लाख ६ हजार २३७ जना मोबाइल बैंकिङ प्रयोग गर्छन् । ७२ लाख १५ हजार ६ सय ४६ जना डेबिट कार्ड प्रयोगकर्ता छन् । बैंक तथा वित्तीय संस्थामा ९ लाख ६९ हजार ५५ जना इन्टरनेट बैंकिङका प्रयोगकर्ता छन् । क्रेडिट कार्डका प्रयोगकर्ता १ लाख ४६ हजार ८ सय ५६ जना छन् भने प्रिपेड कार्डका प्रयोगकर्ता ६३ हजार ७ सय ७५ जना छन् ।
राष्ट्र बैंकले बैंकहरूलाई प्रविधिमा लगानी बढाउन जोड दिएको छ । अहिले बैंकिङ क्षेत्रमा थुप्रै प्रविधि भित्रिएको र ग्राहकले खाता खोलेको केही दिनमै एटीएम कार्ड, मोबाइल बैंकिङ प्रयोग गर्ने सुविधाले प्रविधिमा गरेको लगानी देखिन थालेको राष्ट्र बैंकको ठहर छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x