Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

विकासशील १ सय मुलुकलाई विश्व बैंकको १ खर्ब ६० अर्ब डलर सहायता

विकासशील १ सय मुलुकलाई विश्व बैंकको १ खर्ब ६० अर्ब डलर सहायता

काठमाडौं, ७ जेठ । कोरोना भाइरसको महामारीका कारण ठूलो आर्थिक क्षति भोगेका विश्वका १ सय वटा विकासशील मुलुकका लागि विश्व बैंक समूहले अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ । विश्वव्यापी आर्थिक संकट निवारणका लागि १ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरको आर्थिक प्याकेज स्वीकृत गरिएको विश्व बैंकले जानकारी दिएको छ ।
विश्वको कुल जनसंख्याको झण्डै ७० प्रतिशत प्रतिनिधित्व गर्ने १ सय विकासशील मुलुक उक्त आर्थिक प्याकेजबाट लाभान्वित हुने भएका छन् । अनुदान र सहुलियतपूर्ण ऋणका रूपमा यो रकम सम्बन्धित मुलुकले प्राप्त गर्ने भएका छन् । सोमवार स्वीकृत भएको सहायता तोकिएका मुलुकहरूले आगामी १५ महिनाभित्र क्रमशः प्राप्त गर्ने बताइएको छ ।
कोरोना महामारीपश्चात् विश्व बैंकले घोषणा गरेको यो अहिलेसम्मकै ठूलो आर्थिक सहयता हो । मार्चयता कोभिड–१९ का कारण संकटमा रहेका मुलुकलाई गरिबी र चरम आर्थिक संकटबाट बचाउन, निजी क्षेत्रको पुनरुद्धार, स्वास्थ्य प्रणालीको सुदृढीकरणमा काम थालिसकेको जानकारी विश्व बैंकले दिएको छ । उक्त सहायताले मुलुकहरूलाई चरम आर्थिक संकटबाट माथि उठाउन कोसेढुंगा सावित हुने अपेक्षा विश्व बैंंकको छ ।
विश्व बैंकका अनुसार यस्तो सहायता ३९ अफ्रिकी मुलुकले पाउनेछन् । यसबाहेक द्वन्द्वग्रस्त मुलुक अफगानिस्तान, चाड, हाइटी, नाइजरजस्ता मुलुक पनि समावेश छन् । विश्व बैंकले यस्तो सहायता ग्रूप मातहतका अन्तरराष्ट्रिय वित्त निगमलगायत विभिन्न संस्थाबाट परिचालित गर्ने भएको छ ।
विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासले १ सय मुलुकमा आपत्कालीन अपरेसनका लागि विश्व बैंकले सहायता घोषणा गरेको बताएका छन् । यसबाट अन्य दाताहरुले पनि आफ्नो सहायता अगाडि लैजान मद्दत पुग्ने विश्वास उनले गरेका छन् ।
यसैबीच, कोरोना भाइरसका कारण ठप्प भएको आर्थिक गतिविधिका कारण संसारभर ६ करोड मानिस चरम गरिबीमा पुग्ने अनुमान गरिएको छ । गरिबीबाट बचाउन, स्वास्थ्य आपतकालिन आवश्यकताको परिपूर्ति गर्न, निजीक्षेत्रलाई सहयोग गर्न र अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन सहयोगी सावित हुने विश्वास लिइएको उनले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x