लकडाउनमा घरबाहिर निस्कने बढे
काठमाडौं, १८ जेठ । शनिवार बसेको मन्त्रीपरिषद् बैठकले लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । सरकारले यसअघि घोषणा गरेको लकडाउन जेठ २० गतेसम्मका लागि यथावत छ ।
तर लकडाउनकै बीच सडकमा सर्वसाधारणको भिड बढ्न थालेको छ । सरकारले अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई बाहिर नस्किन, तरकारी, खाद्यन्न लगायतका पसलहरु बिहानको एक समय मात्र संचालन गर्न निर्देशन दिएको छ। २ महिना भन्दा बढी समय देखि घरभित्रै थुनिएर बसेका सर्वसाधारणहरु पछिल्लो समय लकडाउनको समय बढाउन थालेपछि बाहिर निस्कन थालेका छन् । सडकमा सवारी साधनको चाप दिनप्रतिदिन बढ्दो छ ।
बिहान र बेलुकीको समयमा राजधानीका भित्रि सडक र चोकहरुमा सर्वसाधारण हुलका हुल बाहिर निस्कन थालेका छन् । उनीहरुले मास्क लगाउने बाहेक सामाजिक दूरि कायम गर्ने लगायतका अन्य कुनैपनि कुरामा खासै ध्यान दिएको पाईदैन । यसले संक्रमणको जोखिम थप बढाएको छ।
सरकारले ४४ प्रकारका उद्योगहरु सञ्चालन गर्न दिने निर्णय गरेयता सडकमा सवारी चाप बढेको सडकमा खटिएका सुरक्षाकर्मी बताउछन् । अत्यावश्यक काम बाहेक फ्रेस हुन भन्दै पनि मानिसहरु सडकमा आउने गरेको सुरक्षकर्मी बताउछन् ।
लकडाउनले आर्थिक क्रियाकलाप ठप्पप्राय ः हुँदा अर्थतन्त्र शिथिल बन्दै गएको र मध्यमबर्गिय परिवारलाई त दैनिकी चलाउनै मुश्किल हुन थालेकाले सरकारले जेठ २० पछि लकडाउनको मोडालिटी परिमार्जन गर्नेमा सर्वसाधारण विश्वस्त थिए । ‘सुरक्षाको विषयलाई विशेष प्रथमिकता दिएर आर्थिक क्रियाकलापलाई विस्तारै चालयमान बनाउनुपर्ने हो,’ठमेलका एक व्यवसायीले भने, ‘तर राज्यले लकडाउनलाई मात्रै संक्रमण नियन्त्रणको अस्त्र मानेपनि पछिल्लो समय उल्लंघन गर्ने क्रम बढेको छ । त्यसमा व्यक्ति स्वयंमले पनि सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ ।’
सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्न नसक्दा यो समस्या उत्पन्न भएको उनीहरुको तर्क छ।