Date

शनि, साउन १२, २०८१
Sat, July 27, 2024

लकडाउनको मोडालिटी नआउँदै व्यापार व्यवसाय र सवारी सञ्चालन बढ्यो

लकडाउनको मोडालिटी नआउँदै व्यापार व्यवसाय र सवारी सञ्चालन बढ्यो

काठमाडौं, २८ जेठ । लामो समयसम्म जारी लकडाउन कारण आर्थिक व्यावसायिक गतिविधिका साथै जनजीवन कष्टकर भएपछि सरकार यसको मोडालिटी फेर्नेबारे गृहकार्यमै छ । तर यो बीचमा पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा भने सवारीसाधन सञ्चालन तथा पसल व्यवसाय खुल्ने क्रम बढेको छ ।
सरकारले जेठ मसान्तसम्म लकडाउन कायमै राखे पनि त्यसको उल्लंघन गर्दै व्यवसायीले काठमाडौंका न्यूरोड, कालीमाटी, नयाँबानेश्वर, कोटेश्वर लगायत क्षेत्रमा पसल तथा व्यापार व्यवसाय सञ्चालन गरेका छन् । यसँगै सवारीसाधन सञ्चालन पनि प्रतिप्रतिदिन बढेको छ ।
यसअघि लकडाउनको पालना गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किने सर्वसाधारणको चहल पहल पनि बढेको छ । लामो समय लकडाउन हुँदा दैनिक दिनचर्यासँगै आर्थिक अवस्था समेत संकटमा परेको भन्दै मानिसहरू काममा निस्कन थालेका छन्, जसकारण सडकमा सवारीसाधनको चाप बढेको हो । सवारी साधनको चाप बढेसँगै पेट्रोलियम पदार्थको खपतमा समेत वृद्धि भएको छ ।
प्रहरीले अत्यावश्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारीसाधन बाहेक पनि सरकारी कर्मचारी, बैंक तथा उद्योग प्रतिष्ठानका कर्मचारीलाई परिचयपत्र हेरी सवारी सञ्चालन गर्न दिएको छ ।
अन्य दिनको तुलनामा मंगलवार काठमाडौं, ललितपुर तथा भक्तपुरमा सर्वसाधारणको आवतजावत बढ्यो भने पसल खोल्ने, सवारी सञ्चालन समेत बढेको छ । प्रहरीले काठमाडौंको न्यूरोड क्षेत्रका पसल बन्द गर्न खोज्दा व्यापारी तथा प्रहरीबीच सामान्य झडपसमेत भएको छ ।
सरकारले लकडाउनलाई खुकुलो बनाउन तथा व्यापार व्यवसाय सञ्चालन गर्ने विषयमा विभिन्न मोडालिटीमा खोल्ने गरी तयारी शुरू गरे पनि ठोस कार्ययोजना नआउँदा विरोध समेत हुन थालेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x