आगामी आवमा १ हजार ३०० मेगावाट विद्युत् नेशनल ग्रिडमा जोडिने
काठमाडौं, २८ जेठ । आगामी आर्थिक वर्ष २०७७÷७८ मा १ हजार ३०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणाली (नेशनल ग्रिड)मा जोडिने भएको । माथिल्लो तामाकोशी, रसुवागढी, माथिल्लो सान्जेन, मध्यभोटेकोशी सहित निजीक्षेत्रका जलविद्युत् आयोजनाबाट उक्त परिमाणको विद्युत् नेशनल ग्रिडमा जोडिने ऊर्जामन्त्री वर्षमान पुनले बताएका छन् ।
४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आगामी भदौदेखि उत्पादन गर्न शुरू हुनेछ मन्त्री पुनले जानकारी दिएका छन् । तामाकोशी लगायत आयोजनाबाट चालू आवमै १ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य सरकारले राखेको थियो । यद्यपि कोरोना प्रकोपका निर्माण समयमै सम्पनन हुन सकेको छैन । आगामी आवमा उक्त आयोजनासहित अन्य आयोजनाको पनि निर्माण सम्पन्न हुने दाबी मन्त्री पुनले गरेका छन् ।
आगामी आवदेखि १२ सय मेवाको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया थालिने मन्त्री पुनले बताएका छन् । हालसम्म उक्त आयोजनाको ८० प्रतिशत मुआब्जा वितरण गरिसकिएको र बाँकी मुआब्जा वितरण गरेर निर्माण थालिने उनको भनाइ छ ।
हरेक प्रदेशमा एउटा बृहत् जलविद्युत् आयोजनाको विकास गर्ने सरकारको नीतिअनुरूप दूधकोशी, अपरअरुण, तामाकोशी ५, नौमुरे, नलगाड, बेतन कर्णाली, चैनपुर सेतीलगायत आयोजना अघि बढाइएको पुनले बताए । ‘यस्तै माथिल्लो अरुण, भेरी डाइभर्सन, तामाकोशी–५ लगायत जलविद्युत् आयोजनामा सार्वजनिक तथा निजी साझेदारीमार्फत वित्तीय व्यवस्थापन गरिनेछ,’ उनले भने ।
मुलुकको विद्युत् प्रणालीलाई भरपर्दाे बनाउन आगामी वर्षको बजेटमा पर्याप्त बजेट विनियोजन गरिएको उनको भनाइ छ । उनका अनुसार हटौंडा–ढल्केवर–इनरुवा, हेटौंडा–भरतपुर–बर्दघाट, कालीगण्डकी कोरिडोरलगायत प्रसारण लाइनको निर्माण तीव्र पारिनेछ ।