Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

बृहत् रक्तदान कार्यक्रम सम्पन्न

बृहत् रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, १ असार । विश्व रक्तदाता दिवसको अवसरमा सोमवार काठमाडौंमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कृति फाण्डेशनको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा ५३ जनाले स्वतःस्फूर्त रूपमा रक्तदान गरेका छन् । गिरिजाप्रसाद कोइराला फाण्डेशन, युवा तथा खेलकुद समिति, शुभारम्भ युवा क्लब, साइन्टोलोजी भोलेन्टियर मिनिष्टरको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लिस्नर्स क्लब नेपालका अध्यक्ष जनक चन्द, मिर्मिरे युवा समाजका अध्यक्ष दिनेश विक्रम शाह, विजयचोक युवा क्लबका अध्यक्ष सुधिर नेपाल, साइन्टोलोजी भोलेन्टियर मिनिष्टरका अध्यक्ष विनोद शर्मा लगायत सेवामा खटिएका प्रहरी, स्थानीय महिला तथा पुरुषको उपस्थिति थियो भने रेडियो सिटी एफएम ९८.८तथा सामाजिक संजालबाट थाहा पाएर केही किलोमिटर टाढाका रक्तदाता समेत रक्तदानको लागि आएका कृति फाउण्डेशनका अध्यक्ष तथा बृहत् रक्तदान कार्यक्रमका संयोजक गुणराज प्याकुरेलले बताए ।
७० जना रक्तदाताले आफ्नो नाम दर्ता गराएकोमा केही रक्तदाताको उच्च रक्तचाप तथा स्वास्थ्यको अन्य कारण रक्तदान गर्न नसकेको संयोजक प्याकुरेलको भनाइ छ । ‘विगत लामो समयदेखि विभिन्न सन्दर्भमा हुने रक्तदान कार्यक्रममा दुई शय पिन्ट रगत संकलन हुने गरेकोमा वर्षात्को कारण रक्तदान गर्न घरबाट निस्केका रक्तदाता समेत रक्तदान स्थलमा आउन सकेनन्,’ उनले भने । लकडाउनको कारणले सार्वजनिक सवारी साधन नचलेको, जोरविजोर सवारी संचालनको कारणले टाढाका रक्तदाताहरू रक्तदान गर्न आउन नसकेको कारणले यस पटक संख्याका केहि कमी भएको उनले बताए ।
काठमाडौंको मुलपानी देखि रक्तदानको लागी भिमसेनगोला आइपुगेका लिस्नर्स क्लव नेपालका अध्यक्ष जनक चन्दले आजको दिन १०औं पटक रक्तदान गर्न पाएकोमा खुशी व्यक्त गरे । ‘रक्तदान गर्न पाउनु अवसर हो, स्वास्थ्य, उमेर आदि विभिन्न परिस्थितिले साथ दिए मात्र रक्तदान गर्न पाइने भन्दै विगतका वर्षहरुमा क्लवले विश्व रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्वबारे जानकारी दिने खालका विभिन्न चेतनामूलक कार्यक्रमहरु आयोजना गरि मनाउँदै आएको थियो,’ उनले भने । यस पटक बन्दाबन्दीको कारणले क्लवले यस्ता कार्यक्रम गर्न नसके पनि आफू भने रक्तदान गर्न आएको उनको भनाइ छ । यस दिवसले नयाँ रक्तदाताका रूपमा युवालाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरुलाई सम्मान गर्न स्वयंसेवी भावना बढाउने उनले बताए ।
मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । रगतको आवश्यकतालाई परिपुर्ति गर्ने रक्तदाताहरुको कदर स्वरुप नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x