सामुदायिक लघुवित्तको वित्तीय विवरण सार्वजनिक, खुद मुनाफामा वृद्धि
काठमाडौं, २३ माघ । सामुदायिक लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार लघुवित्तले करिब ३० प्रतिशत खुद मुनाफा आर्जन बढाएको छ ।
लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५३ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जून गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा करिब ३० प्रतिशत बढी हो । गत आर्थिक बर्षको यही अवधिमा कम्पनीको खुद मुनाफा ४१ लाख ५६ हजार रुपैयाँ थियो ।
कम्पनीले पुष मसान्तसम्ममा २३ करोड २३ लाख रुपैयाँ बचत संकलन गरि ३८ करोड ४६ लाख रुपैयाँ सापट लिएर ६८ करोड ८७ लाख कर्जा लगानी गरेको छ । कम्पनीको निक्षेप, सापट तथा कर्जा रकममा समेत उल्लेखीय सुधार देखिएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४२ पैसा तथा प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३८ पैसा छ ।
यसअवधिमा कम्पनीको चुक्तापूँजी र जगेडामा समेत सुधार देखिएको छ । कम्पनीको चुक्तापूँजी ७ करोड रहेको छ भने जगेडाकोषमा २ करोड ४० लाख छ ।
कम्पनीले सर्वसधारणका लागि तीन करोड बराबरको तीन लाख कित्ता सेयर जारी गर्न बाँकी छ । संस्थाले माघ ९ गतेदेखि आईपिओ निष्कासन गर्न लागेको थियो । कम्पनीको वित्तीय विवरणमा गम्भिर कैफियत भेटिएको भन्दै धितोपत्र बोर्डले राष्ट्र बैंकको निर्देशनमा कम्पनीको आइपिओ स्थगन गराएको थियो ।