बागमती प्रदेश सरकार : २ वर्षमा २३ पुलसहित १३ सय किमी सडक निर्माण
काठमाडौं, १९ असार । बागमती प्रदेश सरकारले विगत २ आर्थिक वर्षमा ३३ पुलसहित १ हजार ३०० किलोमिटर सडक निर्माण गरेको छ । शुक्रवार प्रदेशसभाको छैटौं अधिवेशनमा विनियोजन विधेयक २०७७ को विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त जानकारी दिएका हुन् ।
प्रदेशका गौरवका आयोजनासहित पूर्वाधार निर्माणमा सबै क्षेत्रको समानुपातिक विकासको अवधारणाअन्तर्गत बजेटको सन्तुलित वितरण गरिएको मुख्यमन्त्री पौडेललको भनाइ छ । प्रदेशको राजधानी हेटौँडा र देशकै राजधानी काठमाडौँलाई सहज ढङ्गले जोड्ने तथा देशको आर्थिक विकासमा मेरुदण्डको काम गर्ने भएकाले प्रदेश सरकारले सुरुङमार्ग निर्माणलाई पनि प्राथमिकता दिएको उनको भनाइ छ ।
कृषि, उद्योग, व्यापार व्यवसाय, रोजगारी प्रवद्र्धन, उत्पादनशील कार्यक्रमका लागि लगानी प्रवद्र्धन, पर्यटन प्रवद्र्धनसँग सम्बन्धित उद्योग, शैक्षिक कार्यक्रम, लघु तथा साना उद्योग, वन तथा वातावरणजन्य उद्योग, फोहरमैला व्यवस्थापन, सामाजिक क्षेत्रसँग सम्बन्धित उद्योगलगायत उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रमका लागि सहुलियतपूर्ण व्याजदरमा ऋण उपलब्ध गराउन तीन अर्बको कोषका लागि बजेट व्यवस्था गरिएको पौडेलले जानकारी दिएका छन् ।