Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

राजस्व चुहावट अभियोगमा विभागद्वारा ७७ करोड बिगो दाबीसहित मुद्दा दायर

राजस्व चुहावट अभियोगमा विभागद्वारा ७७ करोड बिगो दाबीसहित मुद्दा दायर

काठमाडौं, २५ असार । भन्सार चोरी पैठारी, झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध रू. ७७ करोड ४ लाख बिगो कायम गरी उच्च अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध बिगो असुल गरी सोहीबराबरको जरिवाना र कैद सजायको माग दाबीसहित विभागले बुधवार उच्च अदालत पाटनमा मुद्दा चलाएको हो ।
झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजस्व छली गर्ने न्यूकोइराला ब्रदर्स इन्टरप्राइजेजले रू. एक करोड ७० लाख १९ हजार बिगो कायम गरी उक्त बिगो असुलउपर गरी गराई जरिवाना र कैदको माग दाबीसहित बुधबार मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताएको राससमा उल्लेख छ । यस्तै काठमाडौँ महानगरपालिका महाबौद्धमा ठेगाना राखी कारोवार गर्ने समर ट्रेडर्सले पनि राजश्व चुहावट गरेको भेटिएको छ । राजश्व छली गरेको अभियोगमा रु चार करोड ५८ लाख बिगो असुलउपर गरी जरिवाना एवं कैद सजायको माग दाबी लिई मुद्दा दर्ता गरिएको छ ।
विदेशबाट मोबाइललगायत इलेक्ट्रोनिक्स सामान चोरीपैठारी गरी राजश्व चुहावट गरेको कसूरमा काठमाडौँको टोखास्थित ग्राण्डी अपार्टमेन्टमा बस्ने मयुर मालाकारसमेत दुई जनाविरुद्ध रु ४३ करोड १८ लाख बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा चलाइएको मैनालीको भनाइ छ । यस्तै झुठा तथा नक्कली मूल्य अभिवृद्धिकरको बिजक प्रयोग गरी राजस्व छली गर्ने काठमाडौँ महानगरपालिका–४ मा रहेको जिमी ग्रुप प्रालिले राजस्व चुहावट गरेको अभियोगमा रु १८ करोड बिगो बराबरको राजस्व छलेको पाइएको छ ।
ललितपुर महानगरपालिका–३ स्थित न्यूक्रियसन इम्पेक्स प्रालि, बङ्गलामुखी ट्रेड एण्ड सप्लाई र काठमाडौँ महानगरपालिका २८ स्थित बिएस ट्रेड इन्टरनेशनलले नौ करोड बिगो बराबरको राजस्व चुहावट गरेको अभियोग छ । उक्त कम्पनीविरुद्ध जरिवाना एवं कैद सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x