Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पारदर्शिता र जवाफदेहिता सुनिश्चित हुनेगरी काम गरौं : अर्थमन्त्री

पारदर्शिता र जवाफदेहिता सुनिश्चित हुनेगरी काम गरौं : अर्थमन्त्री

काठमाडौं, १ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले अन्य नियमनकारी निकायसँगको समन्वयमा नेपालमा लगानी र व्यवसायीको पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित हुनेगरी काम गर्नुपर्ने बताएका छन् । बिहीवार आइक्यानको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ कार्यक्रममा मन्त्री खतिवडाले सदस्यतामा आधारित संगठन संरचना भएको नियमनकारी निकायलाई थप व्यवस्थित र पारदर्शी बनाउन कानुन मस्यौदाको प्रक्रियामा अघि बढ्न गरेका हुन् ।
मन्त्री खतिवडाले निष्पक्ष छानबिन गर्ने, दोहोरो भूमिका नभई काम गर्ने सक्ने वातावरण निर्माण गर्ने र लेखाका सिद्धान्त विपरीत काम गर्नेलाई कारबाही गर्ने गरी आइक्यान अघि बढ्नुपर्ने सुझाव दिए । ‘सिद्धान्त विपरीत काम गर्नेमाथि कारबाही गर्ने बेलामा दण्डहीनताको अवस्था आउनु हुँदैन,’ उनले भने ।
नियमनकारी निकायले इमानदारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । ‘विश्वसनीय लेखाप्रणाली बनाउन आइक्यानको भूमिका रहन्छ,’ उनले भने, ‘नियमनकारी निकायमा बस्नेले स्वार्थ नबाझिने गरी काम गर्नुपर्छ ।’
महालेखापरीक्षक टंकमणि शर्मा दंगालले नेपाल सरकार र महालेखापरीक्षकको कार्यालयसँग अत्यन्त राम्रो सम्बन्ध राखेर अघि बढ्न आइक्यानलाई सुझाव दिएका छन् । अबको समयमा धेरै काम भर्चुअल र अनलाइन प्रणालीबाट हुने भएकाले त्यसतर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए ।
आइक्यानका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले आफ्नो नेतृत्वको कार्यकालमा सुधारका धेरै काम अघि बढेको जानकारी दिए । आफ्नो प्रत्येक बैठकमा संस्था सुधारका लागि धेरै प्रयास र पहल भएको उनले उल्लेख गरे । आइक्यानका नवनिवर्चित अध्यक्ष मदनकृष्ण शर्माले यसअघि सुरु भएका संस्थागत सुधारका कामलाई निरन्तरता दिई अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे । लेखाविधिका मूल सिद्धान्तलाई केन्द्रमा राखेर काम अघि बढाइने उनले बताए । आइक्यानले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने कम्पनी तथा संघ संस्थाहरूलाई पुरस्कृत गरेको छ । कार्यक्रममा आइक्यानका नवनिर्वाचित अध्यक्ष मदनकृष्ण शर्मा र उपाध्यक्ष युद्धराज ओलीको शपथ ग्रहण गराइएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x