सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाकै रू. ९४ हजार

काठमाडौं, ७ साउन । लकडाउन पूर्णरूपमा खुलेको पहिलो दिन बुधवार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । मंगलवार अघिल्लो दिनको तुलनामा ४ सयले बढेर रू. ९२ हजार ७०० पुगेको प्रतितोला छापावाल सुनको मूल्य आज एकै दिन १ हजार ३०० बढेर रू. ९४ हजार पुगेको छ, जुन हालसम्मको उच्च मूल्य रहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।
बुधवार तेजाबी सुनको मूल्यमा पनि उच्च वृद्धि भएको देखिन्छ । मंगलवार प्रतितोला ९२ हजार २६० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य बुधवार १ हजार ३०० नै बढेर ९३ हजार ५६० रुपैयाँ पुगेको महासंघले उल्लेख गरेको छ ।
बुधवार चाँदीको मूल्यमा समेत बढेको छ । यस दिन प्रतितोला चाँदीको मूल्यमा रू. ९५ वृद्धि भएर ११ सय ३५ पुगेको छ । चाँदीको मूल्य समेत अहिलेसम्मकै बढी भएको महासंघले बताएको छ । आगामी दिनमा सुनचाँदीको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।