चालु आवमा आर्थिक वृद्धिदर २.१% रहने विश्व बैंकको प्रक्षेपण
काठमाडौं, ९ साउन । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर उच्च रहने सरकारको प्रक्षेपण विपरित २.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले लकडाउन, निजी क्षेत्रको आत्मविश्वास, पर्यटन क्षेत्रमा शिथिलता, विप्रेषण आप्रवाहमा सामान्य गिरावट, मागमा कमी तथा आपूर्ति प्रणालीमा अनियमितता तथा पूर्ण रुपमा आर्थिक गतिविधि सञ्चालनमा कठिनाइ हुने भएकाले वृद्धिदर कमजोर नै रहने प्रक्षेपण गरेको हो । नेपाल डेभलपमेन्ट अपडेटले मुद्रास्फिति भने ६.६ प्रतिशत रहने अनुमान गरेको छ ।
विश्व बैंकले चालू आवमा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरे पनि सरकारले भने आर्थिक वृद्धिदर र मुद्रास्फिति ७ प्रतिशतको प्रक्षेपण गरेको छ ।
कम आर्थिक क्रियाकलाप र कच्चा तेलको मूल्यले अर्थतन्त्रलाई संकटपूर्वको अवस्थामा राख्नेछन् । नेपालको चालु खाता घाटा भने कुल गार्हस्थ उत्पादनको ६.५ प्रतिशतभित्रै रहनेछ । ‘कम आयातले सरकारको राजस्व संकलनलाई निरन्तर प्रभावित गर्नेछ,’ विश्व बैंकले भनेको छ, ‘यद्यपि, भन्सार दरहरुमा परिवर्तन जस्ता उपायले राहतका पहलको परिणाम आउनेछ ।’ त्यस्तै सरकारको बजेट घाटा पनि कुल गार्हस्थ उत्पादनको ६.६ प्रतिशत भित्रै रहने अनुमान छ । सरकारले महामारी नियन्त्रणका लागि धेरै राहतका उपाय अबलम्बन गरेको चर्चा गर्दै विश्व बैंकले घरपरिवारमा पर्ने मार कम गर्ने, जोखिममा रहेका फर्म/कम्पनीहरुलाई बचाउने काम सह्रानीय भएको भन्दै उत्थानशील ढंगले अर्थतन्त्रको पुनस्र्थापनाका लागि सुधारका कामहरु अघि बढाउन सिफारिश गरेको छ ।
‘कोभिड–१९ का कारण निम्तिएको विश्वव्यापी परिदृश्य बुझ्न, नेपाल डेभलपमेन्ट अपडेट सहयोगी छ,’ अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त प्रकाशन विमोचन समारोहमा भने, ‘हामीले क्षेत्रगत समष्टिगत आर्थिक नीतिका माध्यमबाट वित्तिय क्षेत्रको स्थायित्व, डिजिटलउन्मुख हरित अर्थतन्त्र र सेवाप्रवाहलाई चुस्त गर्नुका साथै सार्वजनिक वित्तको स्थिरताका सम्बन्धमा ध्यान दिनुपर्छ ।’