सकिँदै यस वर्षको रोपाइँ, हालसम्म ९१.६८ प्रतिशत सम्पन्न

काठमाडौं, ९ साउन । समयमै मनसुन शुरु भएर निरन्तर पानी परे पनि यस वर्ष मुलुकभर धान रोपाइँ अन्तिमतिर पुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन पहिलो हप्तासम्ममा ९१ दशमलव ६८ प्रतिशत रोपाइँ पूरा भएको छ । गतवर्ष यो अवधिमा ६३ दशमलव ७९ प्रतिशत मात्र रोपाइँ भएको थियो ।
यस वर्ष हालसम्म उच्च पहाडी क्षेत्रमा ८७ दशमलव ६५ प्रतिशत, मध्य पहाडी क्षेत्रमा ८५ दशमलव २३ प्रतिशत, तराई क्षेत्रमा ९४ दशमलव १७ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ । गतवर्ष यी ठाउँमा क्रमशः ७५.१, ७२.८७ प्रतिशत र ६०.०२ प्रतिशत मात्र रोपाइँ भएको थियो ।
हालसम्ममा प्रदेश १ मा ८२.४१ प्रतिशत रोपाइँ सकिएको छ । गतवर्षको सोही अवधिको तुलनामा यो २६.२८ प्रतिशत धेरै हो । प्रदेश २ मा हालसम्म ९६.७७ प्रतिशत रोपाइँ सकिएको छ । गतवर्ष यहाँ ५०.४८ प्रतिशत रोपाइँ भएको थियो ।
यस वर्ष प्रदेश ३ मा हालसम्म ८२.२२ प्रतिशत, गण्डकी प्रदेशमा ९१.११ प्रतिशत, प्रदेश ५ मा ९५.१४ प्रतिशत, कर्णाली प्रदेशमा ९६.२३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९५.४९ प्रतिशत रोपाइँ सकिएको छ । मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कुल १३ लाख ७१ हजार ७०६ हेक्टर जमीनमा वर्षे धानखेती हुने गरेको छ । यसमध्ये अहिलेसम्म १२ लाख ५७ हजार ६०७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *