महासंघका पूर्व अध्यक्षहरुको बैठकमा विनोद चौधरीलाई नबोलाएकोमा रविभक्त कड्किएपछि अध्यक्ष राणाले माफी मागिन्
काठमाडौं, ९ साउन । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार पदाधिकारीहरुसहित सबै पूर्वअध्यक्षहरुको बैठक बोलायो । महासंघको आसन्न साधरणसभाका विषयलाई लिएर छलफल गर्न पदाधिकारी बैठक बोलाइएको थियो । यसमा पूर्व अध्यक्षहरुसँगको परामर्शका लागि बोलाइएको थियो । तर महासंघले दुईजना अध्यक्ष उपस्थिति थिएनन् । यीमध्ये महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले बैठकमा उपस्थित हुन अस्वीकार गरेका थिए ।
सीएनआईका संस्थापक अध्यक्ष समेत रहेका पूर्व अध्यक्ष विनोद चौधरीलाई भने नियतवश नबोलाइएको बुझेपछि महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ बैठकमै कड्कीए । उनले महासंघले पूर्व अध्यक्षहरुलाई सम्मान गर्न नसकेको आरोप लगाए । त्यसपछि अध्यक्ष राणाले गल्ती भएको भन्दै माफी मागेकी थिइन् ।
महासंघको गरिमा बढाउन ठूलो योगदान गरेका उद्योगपति विनोद चौधरीप्रति महासंघको संस्थागत वैमनश्यता भने होइन । यसलाई नेतृत्व गर्नेहरु र उनीहरुमाथि प्रभाव राख्नेले यसमा खेल्दै आएका छन् । यद्यपि निवर्तमान अध्यक्ष पशुपति मुरारकाले आफ्नो कार्यकालको अन्तिम साधरणसभामा पूर्व अध्यक्ष विनोद चौधरीलाई आमन्त्रण गरी सम्मान गर्नुका साथै मुख्य वक्ताका रुपमा धारणा राख्न आमन्त्रण गरेका थिए । २०५२ सालपछि महासंघका सार्वजनिक कार्यक्रममा चौधरी उपस्थिति देखिएको थिएन । झण्डै २० वर्षपछि २०७३ सालको ५१औं साधरणसभामा उनलाई महासंघको मञ्चमा ल्याएको भन्दा तत्कालीन अध्यक्ष पशुपति मुरारकालाई बधाईको ओइरो लागेको थियो ।