एनएलजीको नबिकेको हकप्रद शेयर साउन २२ देखि लिलामीमा विक्री हुँदै
काठमाडौं, १५ साउन । यसअघि जारी गरेर पनि विक्री हुन नसकेको एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर साउन २२ गतेदेखि लिलामीमा विक्री गरिने भएको छ । विक्री नभएको हकप्रदमध्ये संस्थापक समूहको ८१ हजार २२४ र सर्वसाधारण समूहको ७९ हजार ८५३ कित्ता शेयर कम्पनीले बोलकबोलमार्फत विक्री गर्न लागेको हो । उक्त शेयरमा साउन २९ गतेसम्म आवेदन दिन पाइनेछ ।
कम्पनीले २२ फागुन २०७६ देखि २५ असार २०७७ सम्म १० बराबर ६ अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद शेयर विक्री गरेको थियो । कम्पनीले ९ साउनमा निष्कासन गरेको कुल हकप्रदमध्ये ३६ लाख ८१ हजार ३ सय ५९ दशमलव ५० कित्ता सेयर बाँडफाँट गरी बाँकी सेयर लिलामीमार्फत बेच्न लागेको हो । यसका विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
लिलामी शेयरमा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट, लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालय र एनएलजी इन्स्योरेन्सको केन्द्रीय कार्यालयमार्फत आवेदन दिन सकिनेछ । शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् । यसका लागि प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ अंकित गरी प्रतिस्पर्धात्मक बोलकबोल पेश गर्नुपर्नेछ ।