लामोसाँघु–सिँगटी १३२ केभीए प्रसारण लाइन निर्माण सुचारु
दोलखा, १६ साउन । लामो समयदेखि जग्गा विवादका कारण रोकिएको लामोसाँघु–सिँगटी प्रसारण लाइनको काम सुचारु भएको छ । भीमेश्वर नगरपालिका–८ को बोच तथा वडा नम्बर ९ को झिँगानेमा जग्गा विवादको कारण स्थगित प्रसारण लाइन निर्माणले गति लिएको हो ।
जग्गा विवादसँगै रोकिएको १३२ केभीए क्षमताको प्रसारण लाइन निर्माणका लागि बोचमा टावर निर्माणका लागि फाउन्डेसन बनाउने काम भएसँगै प्रसारण लाइन निर्माण सुचारु भएको लामोसाँघु–सिँगटी प्रसारणलाइन निर्माण आयोजनाका प्रमुख राजन ढुंगेलले बताए । झिँगानेका टावर निर्माणको काम पनि सुरु गर्न लागिएको उनको भनाइ छ ।
जग्गा विवादकै विच भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा रहेको तिलोत्तमा हिमाली फूड प्रोडक्सन एन्ड रिसर्च सेन्टर को जग्गामा लामो समयदेखि टावर नम्बर ७४ को निर्माण हुन सकेको थिएन । यसैगरी वडानम्बर ९ झिँगानेका स्थानीयहरुले पनि रूट परिवर्तन गर्न माग गरेका कारण टावर नम्बर ८१, ८२, ८४ र ८६ गरी जम्मा चार वटा टावरकोे निर्माण शुरु हुन सकेको थिएन । दोलखाको उत्तरी भेगमा निर्माण सम्पन्न हुने चरणमा रहेका जलविद्युत् आयोजनाको विद्युत् खेरजाने अवस्था आएपछि प्रशासनको सहयोगमा आयोजनाले गतमहिनाबाट टावर नम्बर ७४ को निर्माण शुरु गरेको हो । आयोजनाले टावर निर्माण शुरु गरेसँगै उच्च अदालत पाटनमा स्टे अडरकालागि मुद्दा परेको मा उच्च अदालतले स्टे अडर जारी गर्न अस्वीकार गरेसँगै आयोजना को काम सुचारु भएको आयोजनाले बताएको छ ।
दोलखाको उत्तरी भेगमा निजी क्षेत्रबाट उत्पादन गरिने विद्युतलाई केन्द्रीय प्रसारणमा जोड्नकालागि निर्माणाधिन १३२ केभीको डबलसर्किटको लामोसाँघु–सिँगटी प्रसारण लाईन निर्माणमा बोचमा एक, झिँगानेमा चार तथा सिन्धुपाल्चोक जिल्लामा दुईवटा टावर निर्माण बाँकी रहेको छ । सिन्धुपाल्चोकमा निर्माणाधिन टावर निर्माणमा भने जग्गा विवादको कारण नभई प्राविधिक समस्या आएकाले काम रोकिएकोमा छिट्टै यो समस्या समाधान हुने आयोजना प्रमुख ढुङ्गेलले बताए ।