Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

विप्रेषण आयमा कोरोना प्रभाव : २०२० मा नेपालमा २९ प्रतिशतले घट्ने एडीबीको प्रक्षेपण

विप्रेषण आयमा कोरोना प्रभाव : २०२० मा नेपालमा २९ प्रतिशतले घट्ने एडीबीको प्रक्षेपण

काठमाडौं, २३ साउन । कोरोना प्रभावका कारण सन् २०२० मा नेपालको विप्रेषण आयमा ठूलो कमी आउने अनुमान गरिएको छ । एशियाली विकास बैंक (एडीबी)को पछिल्लो एक अध्ययन अनुसार कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमा आएको ह्रासले नेपाल सहित एशियाली मुलुकहरूमा विप्रेषण आप्रवाह खुम्चनेछ । जसमध्ये नेपालमा सबैभन्दा बढी करिब २९ प्रतिशतले कमी आउने एडीबीको ‘कोभिड–१९ इम्प्याक्ट अन इन्टरनेशनल माइग्रेसन, रेमिटेन्सेस, एन्ड रिसिपियन्ट हाउस होल्ड इन डेभलपिङ एशिया’ नामक अध्ययनले देखाएको हो ।
यसअघि विश्व बैंकले सन् २०२० मा नेपाल आउने विप्रेषण आप्रवाहमा १४ प्रतिशतको कमी आउने आकलन गरेको थियो । दक्षिण एशियाली मुलुकहरूमध्ये नेपालपछि बंगलादेश, पाकिस्तान, भारत, श्रीलंकाको विप्रेषणमा क्रमशः २७.८, २६.८, २३.५ र २१.९ प्रतिशतले ह्रास आउने अनुमान एडीबीले गरेको छ । जुन देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा विप्रेषणको हिस्सा धेरै छ, ती मुलुकको विप्रेषणमा कोरोना महामारीको प्रभाव बढी पर्ने अध्ययनमा भनिएको छ ।
विप्रेषणको प्रमुख स्रोत वैदेशिक रोजगारमा गएका कामदार रहेका, तर कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण अधिकांश श्रम गन्तव्य मुलुकको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । श्रम गन्तव्यहरूमा कामदारले रोजगारी गुमाउँदा स्वाभाविक रूपमा विप्रेषणमा ह्रास आउने उक्त अध्ययनमा उल्लेख छ । सन् २०२० मा विश्वव्यापी विप्रषेण १८.८ प्रतिशत (१ खर्ब ८ अर्ब अमेरिकी डलर)ले घट्न सक्ने र एशियामा आउने विपे्रषण ५४ अर्ब अमेरिकी डलरले कम हुने प्रक्षेपण एडीबीले गरेको छ । यस्तै सन् २०२० मा दक्षिण एशियामा विप्रेषण आप्रवाह २८ अर्ब ६० करोड डलरले खुम्चने अध्ययनको निचोड छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x