इम्बोष्ड नम्बर प्लेट वितरणको समयसीमा अझै अनिश्चित
काठमाडौं, २३ साउन । सरकारले दुई साता पहिले शुरु गरेको इम्बोस्ड नम्बर प्लेट कहिलेसम्म वितरण गरिसक्ने भन्ने अझै अनिश्चित भएको छ । यातायात व्यवस्था विभागले भने इम्बोस्ड नम्बर प्लेट लिन आउने आवेदन संख्याका आधारमा समयसीमा तोकिने बताएको छ । अहिले एक–दुई महीना कति चालकले आवेदन दिन्छन् भन्ने हेरेर योजना बनाइने विभागका महानिर्देशक गोगनबहादुर हमालको भनाइ छ ।
अहिले नम्बर प्लेट लिनका लागि आवेदन विभागको छपाइको क्षमताभन्दा बढी आएमा समयसीमा तोक्न नपर्ने उनले बताए । उनले भने, ‘यो महिनामा आवेदन नै नआएमा यो समयसम्म नम्बर प्लेट लिनुपर्ने भनी तोकिनेछ ।’
वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट वितरण शुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश–३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्तरूपमा यही साउन ९ गते टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण शुरुआत गरेका थिए ।
सो नम्बर प्लेट लिनका लागि पहिले सवारीधनीले हालसम्मको राजस्व चुक्ता गर्नुपर्छ । विभागको वेबसाइटमा रहेको फाराम भरेर प्रिन्ट गर्न सकिनेछ । सो प्लेटका लागि फरक प्रकृतिका सवारी साधनका लागि फरक कार्यालयमा जाने व्यवस्था मिलाइएको छ ।
दुईपाँग्रे सवारी साधनका लागि गुर्जुधारास्थित कार्यालय र तीन पाँग्रे साना तथा मझौला चारपाँग्रे सवारी साधनको नम्बर लिनका लागि टेकुस्थित भेहिकल फिटनेस सेन्टर जानुपर्नेछ । त्यस्तै ठूला सवारी साधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकारी नम्बरप्लेटका लागि विभागमा जानुपर्ने बताइएको छ ।
सवारीधनीले नम्बर प्लेट लिनका लागि तोकिएको बैंकमा राजस्व बुझाउनुपर्ने विभागले बताएको छ । दुईपाँग्रे सवारी साधनका लागि रू. २ हजार ५००, चारपाँग्रे साना तथा मझौला सवारीका लागि रू. ३ हजार २०० र ठूला सवारीका लागि रू. ३ हजार ६०० राजस्व जम्मा गर्नुपर्नेछ ।