Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आकर्षणको केन्द्रमा हिमालयन बैंक

आकर्षणको केन्द्रमा हिमालयन बैंक

काठमाडौं, २६ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति, २०७७–७८ मा दबाबमूलक मर्जरको कार्यक्रम नल्याएपनि यसले बैंक तथा वित्तिय संस्थाहरुलाई क्रमशः मर्जरका लागि प्रोत्साहीत गर्दै आइरहेको छ । गत वर्ष मौद्रिक नीति अघि त राष्ट्र बैंकले बैंकहरुलाई बोलाएर लगनगाँठो (मर्जर) कस्न पार्टनर (साझेदार) खोज्न अह्राएको थियो । यसैकारण ‘बिग मर्जर’ यसपटकको मौद्रिक नीतिमा पनि हटकेक र खोजीको विषय रहेको थियो । नेपालमा वाणिज्य बैंकहरुको संख्या घटाउने अभिप्रायःले नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिसन सम्बन्धि नियम ल्याएको भएपनि यसबाट अधिकांश विकास बैंक र वित्त कम्पनीहरु आपसमा र वाणिज्य बैंकहरुसँग मर्जर भए ।
वाणिज्य बैंकहरुको हकमा भएका ठूला मर्जरको चर्चा गर्दा सबैभन्दा पहिलो मर्जर तत्कालीन बैंक अफ एसिया र एनआईसी बैंकको भएको थियो । क्रस होल्डिङको कारण देखाउँदै तत्कालीन गभर्नर र हालका अर्थमन्त्री डा. युवराज खतिवडाले मर्जरका लागि दबाब दिएका थिए । ठूलो मर्जरपछि एनआइसी एसिया बैंकको प्रगति राम्रो देखिन्छ । अघिल्लो वर्ष त नाफाका हिसाबले पहिलो पाँच (टप फाइभ) मा अटाउन सफल भयो । त्यसपछि क्रमशः कमर्ज एण्ड ट्रष्ट, जनता बैंक ग्लोबल आइएमई बैंकसँग गाभिए भने तत्कालीन अवस्थामा फाइनान्स कम्पनीको रुपमा रहेको प्रभु फाइनान्सका सञ्चालकहरुले तत्कालीन किष्ट बैंक टेकओभर गरेर प्रभु बैंक बनाए । यही प्रभु बैंकले अर्को वाणिज्य बैंक ग्राण्ड बैंकलाई पनि मर्ज ग¥यो र ठूलो वित्तिय संस्था बन्न सफल भयो । प्रभुले लिएका किष्ट र ग्राण्ड दुवै समस्याउन्मुख बैंकहरु थिए, जसलाई अहिले प्रभु समूहको चुस्त व्यवस्थापनले सुधार गरी प्रतिस्पर्धी वाणिज्य बैंक बनाउन सफल भएको छ । ठूलो मर्जरमा चर्चामा आइरहने अर्को नाम हो, विदेशी संयुक्त लगानीमा अर्थात् भारतस्थित पञ्जाब बैंकको साझेदारीमा सञ्चालित एभरेष्ट बैंक र लक्ष्मी बैंक । मर्जरको चर्चा मात्र गरेर सेयर बजारमा चलखेल गरेको भन्दै गभर्नर पूर्व गभर्नर चिरञ्जीवी नेपालले यिनीहरुलाई तुरुन्त मर्जरमा जान नभए हल्ला नचलाउन निर्देशन समेत दिनु परेको थियो ।
मर्जरकै चर्चामा अहिले हिमालयन बैंक सबैभन्दा आकर्षक (ल्युक्रेटिभ) बैंकका रुपमा देखिएका छ । नेपाल इन्भेष्टमेन्ट बैंकले हिमालयन बैंकसँग साझेदारीको हात अघि बढाइसकेको छ । नेपालका पहिलो गभर्नर हिमालय शमशेरको परिवारले प्रवद्र्धन गरेको र उनका ज्वाइँ पृथ्वी बहादुर पाँडेले सुरुवात गराएको बैंक भएकाले दुईबीच मर्जरको सम्भावना उच्च छ । पाँडेले बैंकको रिटर्न अन इक्विटी (लगानीमा प्रतिफल) घट्दै १५ प्रतिशतभन्दा न्यून भएकाले आफू बैंकिङ व्यवसायबाट बाहिरिन चाहेको बताउँदै आएका छन् ।
हिमालयन बैंकसँग मर्जरका लागि अन्य सम्भावित साझेदारहरुले पनि कुरा अघि बढाएका छन् । जसमा बैंक अफ काठमाण्डू, सिभिल, मेगा, सेञ्चुरी तथा सिटीजन्स बैंक लगायत हिमालयन बैंकसँग मर्जरका लागि इच्छुक रहेका छन् । हिमालयन बैंकमा पृथ्वी बहादुर पाँडेले आफ्नो सेयर मनोजबहादुर श्रेष्ठको समूहलाई बेचेर तत्कालीन इण्डोस्वेज बैंकलाई साझेदारीमा भित्र्याएका थिए । सञ्चालक समितिमा लामो समय रहेका मनोजबहादुर श्रेष्ठ र खेतान समूहको झगडाका कारण पनि विगतमा हिमालयन बैंकसँग मर्जरका लागि अन्य बैंकहरुको चासो देखिदैंनथ्यो । पछिल्लो समय, श्रेष्ठ अध्यक्षबाट हटेर कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतम सञ्चालक समितिको अध्यक्ष भएपछि बैंकको व्यवस्थापनले व्यवसायिक हिसाबले आफ्नो क्षमता देखाउन पाएको छ । बैंक अफ काठमाण्डूमा पनि सञ्चयकोषको लगानी रहेकाले यी दुई बैंकको मर्जरको प्रसंग गम्भीरताका साथ अघि बढीरहेको छ । हिमालयन बैंकसँग मर्जरका लागि सिभिल बैंक पनि इच्छुक देखिएको छ । सिभिल बैंकका एक सञ्चालकले हिमालयन बैंकसँग मर्जरको शर्तमा आफ्नो समूहको सञ्चालक समितिमा प्रतिधित्वको दाबी त्याग्ने समेत बताएका छन् । धेरै बैंकहरुले हिमालयन बैंकसँगको मर्जरमा रुचि देखाएका कारण हिमालयन बैंक आकर्षणको केन्द्र बनेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x