गरिबी निवारणमा लघुवित्त
जगत बहादुर पोखरेल
अध्यक्ष, लघुवित्त संघ, नेपाल
गरिबी विश्वव्यापी समस्या हो । यो समस्याबाट विकासोन्मुख राष्ट्र नेपाल अछुतो छैन । गरिबी निवारणका लागि राज्यका तर्फबाट विभिन्न समयमा विभिन्न योजना बनाएर लक्ष्यहरू निर्धारण गरी काम गरिँदै आएको छ । तर आशातीत रूपमा सफलता प्राप्त हुन सकिराखेको थिएन । यही समस्यालाई मध्यनजर गर्दै लघुवित्त कार्यक्रम शुरू भएको हो । झन्डै चार दशकदेखि यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिले ९० वटा लघुवित्त संस्था सञ्चालनमा रहेका छन् ।
४६ लाख महिलाहरू मात्रै लघुवित्त कार्यक्रमबाट लाभान्वित भएका छन् । १८ देखि ४० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । आधारभूत जनताले लघुवित्तको सेवा लिएका छन् ।
यी संस्थाहरूले मुलुकको ग्रामीण भेगहरूमा लघुकर्जा, मासु तथा दूध उत्पादन कर्जा, पशुपालन कर्जा, स्वरोजगार कर्जा, कृषि लगायतका कर्जाहरू प्रदान गर्दै आएका छन् । सुनिश्चित भविष्य र सुखी जीवनका लागि बचत र लगानी अपरिहार्य छ । अझ त्यसमा पनि गाउँगाउँमा छरिएर रहेको पूँजीलाई संकलन गरी उत्पादनमूलक कार्यमा लगाउन सके आम जनताको जीवनस्तर सहज रूपमा माथि उठ्छ र राष्ट्रको समृद्धिको सपना साकार हुन्छ । त्यसैले लघुवित्त संस्थाका सदस्यहरू पिछडिएका नागरिक हुन्, जसलाई उद्यमशीलता र स्वरोजगारको भोक छ तर पूँजीको अभाव छ । यस्तो अवस्थामा गाउँगाउँमा पुगेका लघुवित्तहरू उद्यमशील सोच भएकालाई स्वरोजगार बनाउने बाटो तय गर्ने माध्यम बनेका छन् । साथै ती संस्थाहरूले महिला सशक्तीकरणका लागि समय–समयमा जनचेतनामूलक कार्यक्रम एवं व्यावसायिक तालिम सञ्चालन गर्दै आएका छन्, जसले सदस्यहरूको जीवनमा सहजता ल्याएको छ । यो कार्यक्रमबाट अहिले लाखौं नागरिक गरिबीको चपेटाबाट माथि उठेका छन् ।
विगतमा लघुवित्त कम्पनीहरूको संख्या कम थियो । अहिले संख्यात्मक उपस्थिति बढेको छ । ४६ लाख महिलाहरू मात्रै यो कार्यक्रमबाट लाभाविन्त भएका छन् । १८ देखि ४० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । आधारभूत जनताले लघुवित्तको सेवा लिएका छन् । साना–साना व्यापार, व्यवसाय गर्न चाहनेका लागि लघुवित्त रोजाइमा पर्ने गरेको छ । गाउँगाउँमा बचत संकलन गर्न ठूला बैंकहरू पुग्न सक्दैनन् । त्यसले गर्दा लघुवित्त संस्थाहरूले उनीहरूको बचत पनि संकलन गर्ने गरेका छन् ।
आम नागरिकलाई उत्पादन र पशुपालनमा जोड्ने विषयमा लघुवित्तहरू सबै सरोकारवालासँग सहकार्य गरेर काम गर्न तयार छन् । वैदेशिक रोजगारीबाट फर्केकालाई उनीहरूको शीप र क्षमता अनुसार लगानी गरेर उत्पादनमा जोड दिने हाम्रो योजना छ । लघुवित्त भनेको गरिबी निवारणको महत्वपूर्ण माध्यम हो । मुलुकको समृद्धि र आर्थिक सशक्तीकरणमा हामी क्रियाशील छौं । त्यसलाई साथ दिन विभिन्न कर्पोरेट लगानीकर्ताले लगानी गरेका छन् । जनताको बचत परिचालन भएको छ । यसले बचत संस्कारको पनि विकास गराएको छ । यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारसँग समन्वय गरेर हामी अघि बढ्न चाहन्छौं ।
सबै लघुवित्तको साझा उद्देश्य छ– गरिबी निवारण । तर पछिल्लो समय यो क्षेत्रमा केही विकृतिहरू पनि सृजना नभएका होइनन् । हिजो एक स्थानमा १–२ वटा संस्थाले सेवा दिइरहेका थिए, त्यहाँ उनीहरूको सेवा राम्रो थियो । जब लघुवित्त संस्थाहरू थपिँदै गए, एकै स्थानमा सेवा दिने संस्थाहरूको संख्या पनि थपिँदै गयो । यसले कहीँकतै अस्वस्थ प्रतिस्पर्धा पनि बढायो । त्यसले लघुवित्तप्रति कतिपयको नकारात्मक धारणा समेत विकास हुन गयो । यो गलत भयो र यसलाई व्यवस्थित गर्नुपर्छ भनेर हामीले लघुवित्त संघ, नेपाल गठन ग¥यौं, जसले सरकार र नेपाल राष्ट्र बैंकसँग आवश्यक समन्वय गरी नीतिगत सुधारका कामहरूका लागि पहल गर्दै आएको छ । गरिबी निवारण गर्न खोलिएका संस्था अधिक ब्याज लिएर नाफामुखी भए भन्ने आम गुनासो छ । ठूला बैंक तथा वित्तीय संस्थाले जस्तो ठूलो आकारको कर्जा लघुवित्तले दिँदैनन् । स–सानो कर्जा धेरै ग्राहकमाझ सञ्चालन गर्नुपर्दा लघुवित्तको सञ्चालन लागत उच्च छ । लघुवित्तले दूरदराजमा घरघरमा गएर कर्जा दिइरहेका छन् । ्
लघुवित्तका धेरै सुन्दर पक्षहरू छन् । लघुवित्तले वित्तीय पहुँच नपुगेका दूरदराजका जनताको जीवनस्तर सुधार ल्याउने, उनीहरूलाई उद्यमी र आयआर्जन गर्न सक्ने बनाई आर्थिक रूपमा सशक्त बनाउने सुन्दर परिचय बोकेका छन् । क्षणिक लाभ र हानिभन्दा पनि गरिबी निवारण गरी मुलुकलाई समृद्ध बनाउने लघुवित्त अभियानको मुख्य उद्देश्यमा दत्तचित भएर लाग्नुपर्छ । त्यसका लागि निषेध होइन, सरकार र राज्यका विभिन्न संयन्त्रहरूसँग मिलेर, समन्वय गरेर अघि बढ्नुपर्छ । अहिले संख्यात्मक हिसाबले पनि लघुवित्त संस्थाहरू धेरै भएकाले कार्यक्षेत्रमा आएको दोहोरोपना हटाउन अब मर्जरमा जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ । त्यसको थालनी भइसकेको छ । हिजो नाफामा गएका संस्थाहरू अहिले ब्याज नउठ्ने लगायतका समस्याबाट ग्रसित छन् । वित्तीय अनुशासन कायम गर्दै लघुवित्त संस्थाहरू काम गर्न तयार छन् । लघुवित्त कर्जाको दोहोरोपना हटाउन र यो अभियानमा स्वच्छताका लागि ग्राहकहरू पनि अनुशासित हुनुपर्छ । केही ठाउँमा विकृति पनि छन् । त्यसको निवारणमा हामी पहल गर्छौं । राम्रोलाई प्रोत्साहन र नराम्रोलाई निरुत्साहित गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।
हामी लघुवित्तका लगानीकर्ताहरू समस्या समाधान गर्दै अघि बढ्न तयार छौं । हामीले लघुवित्तहरूलाई सामाजिक काममा पनि केन्द्रित गरेका छौं । ऋणीको मृत्यु भएको खण्डमा कर्जा मिनाहा गरी परिवारलाई राहत पु¥याएका छौं । परिवारका सदस्यलाई अध्ययनमा प्रोत्साहन गर्न विभिन्न प्रोत्साहनमूलक कार्यक्रमहरू सञ्चालन गरेका छौं । त्यसले परिवारका सदस्यहरूलाई प्रत्यक्ष लाभ पुगेको छ । पछिल्लो समय कोभिड–१९ ले कम्पनीहरू घाटामा जान थालिसकेका छन् । त्यसमा सरकारले विशेष ध्यान दिन जरुरी छ । गाउँगाउँमा समूहको बैठक बस्न सकेको छैन, जसले गर्दा ऋण असुलीमा समस्या भइरहेको छ ।
मुख्यतः लघुवित्तहरूले अब समूह बनाउने, पैसा लगानी गर्ने मात्रै भन्दा पनि ऋणीको क्षमता अभिवृद्धि गर्दै उसको क्षमता हेरेर कर्जा विस्तार गर्न आवश्यक छ । नयाँ नयाँ प्रडक्टहरूमार्फत् सरकारले दिएका सुविधालाई गाउँगाउँसम्म पु¥याउन यी संस्था माध्यम बन्नुपर्छ । लघुवित्त संस्थाहरूको देशव्यापी सञ्जालबाट गरिबी निवारण सम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा लागू हुन सक्छन् । सरकारले यो सञ्जालको उपयोग गर्न सक्नुपर्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई सघाउन हामी सधैं तयार र प्रतिबद्ध छौं ।
(अर्थको अर्थ विशेषांकबाट साभार)