सुनको मूल्य प्रतितोला ८०० घट्यो, चाँदीको मूल्यमा भने वृद्धि
काठमाडौं, २७ साउन । स्थानीय बजारमा सुनको मूल्य घट्न थालेको छ । हिजो प्रतितोला २०० रुपैयाँमात्र घटेको सुनको मूल्य आज ८०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ बजार मूल्य तोकिएको छ । त्यस्तै तेजावि सुनको मूल्य भने १ लाख १ हजार १०० रुपैयाँ तोकिएको छ ।
गत साताको शुक्रबार (२३ गते) सुनको मूल्य हालसम्मकै उच्च पुगेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा भने वृद्धि भएको छ । हिजोको तुलनामा चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ वृद्धि भएकको हो । आज चाँदी प्रतितोला १ हजार ४३५ रुपैयाँमा कारोबार भईरहेको छ ।