व्यावसायिक जनशक्ति विकास र हाम्रो शिक्षाप्रणाली
– कुसुम शाक्य, डिन, मानविकी तथा समाजशास्त्र संकाय
आज विकसित देशहरुमा जनशक्ति (ह्युमन रिसोर्स) लाई मानव पुँजी (ह्युमन क्यापिटल) भन्न थालिएको छ । वास्तवमा अर्थतन्त्रको विकास र विस्तारका लागि पुँजी, प्रविधि र श्रम आवश्यक छन् । श्रम–सघन कतिपय कामलाई अब प्रविधिले सहज बनाइदिएको छ । चौथो चरणको औद्योगिक क्रान्ति थ्रीडी प्रिन्टीङको युगसम्म आइपुग्नुमा प्रविधिका क्षेत्रमा भएको निरन्तरको अध्ययन, अनुसन्धान र खोज प्रमुख कारण हुन् । त्यसकारण आजको युगमा मानव पुँजीको ठूलो महत्व छ ।
खासगरी हामीजस्ता तेश्रो विश्वका मुलुकहरु आज पनि दक्ष जनशक्ति विकासका लागि समेत काम गर्न सकिरहेका छैनौं । हाम्रो शिक्षा प्रणाली दक्ष र व्यवसायिक जनशक्ति उत्पादन अनुकुल छैन । सर्वप्रथम त दक्ष जनशक्ति भनेको के हो भनेर बुझ्नुपर्छ । वस्तुतः मानिस अर्थात् जनतामा रहेको शक्ति या काम गर्न सक्ने क्षमता नै जनशक्ति हो । दक्ष भन्नाले शारीरिक, मानसिक, बौद्धिक गुण, सीप तथा क्षमताले युक्त भन्ने बुझ्न सकिन्छ । समग्रमा दक्ष जनशक्ति भनेका निश्चित क्षेत्रमा काम गर्न सक्ने विशिष्ट ज्ञान र सीप भएका नागरिक हुन् ।
कुनै खास क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरू त्यस क्षेत्र वा कार्यका लागि विशिष्ट जनशक्ति हुन् । देश विकासका लागि दक्ष जनशक्ति अनिवार्य शर्त हो । यस्ता जनशक्ति देशको सामाजिक–आर्थिक विकासका लागि समृद्धिका लागि अभिन्न अंग पनि हुन् ।
हुन त देश विकासका लागि अर्धदक्ष वा अदक्ष व्यक्तिको पनि महत्वपूर्ण भूमिका हुन्छ । यद्यपि विशिष्ट कार्यदक्षता भएको जनशक्ति देश विकासको भरपर्दो आधार हुन् र उनीहरुले विकासको गतिलाई तीव्रता दिनसक्छन् । यस्तो जनशक्तिको उत्पादनमा शिक्षाको अतुलनीय सम्बन्ध र योगदान हुन्छ । दक्ष जनशक्ति विकासका लागि सो अनुकूल शिक्षाको खाँचो पर्छ । परम्परागत र सैद्धान्तिक शिक्षाले व्यक्तिलाई दक्ष बनाउन सक्दैन । देशको आवश्यकता र सम्भावनामा आधारित प्रयोगात्मक शिक्षाको कार्यान्वयनले दक्ष जनशक्ति विकासको लक्ष्य हासिल गर्न सकिन्छ । अहिले विद्यमान हाम्रो शिक्षा प्रणालीका कारण उच्च शिक्षा हासिल गरेर पनि मानिसले विषय अनुसारको पेशा व्यवसाय वा जागीर गर्न सक्ने अवस्था एकदम कम छ । जसले गर्दा औपचारिक रूपमा जुन विषय पढेको भए पनि अधिकांशले अन्ततः शिक्षण पेशा रोज्ने गरेको पाइन्छ ।
यस्तो हुनुमा मुख्यतः शिक्षा र रोजगारीबीच तालमेल हुन नसक्नु मुख्य समस्या हो । बजारको माग अनुरूप शैक्षिक कार्यक्रम नहुँदा पढेलेखेका जनशक्तिलाई पनि रोजगारी पाउन मुश्किल भएको स्थिति छ । कतिपय व्यावसायिक तथा प्राविधिक शिक्षा हासिल गरेकाहरूलाई समेत सम्भाव्य रोजगार क्षेत्रको पर्याप्त व्यावहारिक ज्ञान नहुँदा रोजगारी पाउन कठिन भैरहेको देखिन्छ । यसमा शिक्षित दक्ष जनशक्ति रोजगारदातासम्म पुग्ने वातावरण नबन्नु एउटा कारण हो । यस्तै उच्च शिक्षा हासिल गरेका श्रमशक्तिको माग सेवा क्षेत्रको वृद्धि अनुसार बढेको छैन । तालिम प्राप्त दक्ष जनशक्ति कमी छ । हाम्रो शिक्षाले उत्पादन गर्ने दक्ष जनशक्ति र बजारमा उपलब्ध रोजगारीबीच सीप र दक्षताको हिसाबले धेरै ठाउँमा तालमेल मिलिरहेको छैन ।
शिक्षा र रोजगारीको समन्वयकै चर्चा गर्दा सबैभन्दा पहिला कुन क्षेत्रका लागि कति जनशक्ति आवश्यक पर्छ र त्यो माग प्रतिवर्ष कुन दरले पूरा गर्ने भन्ने अभ्यास हामीकहाँ हुन सकेको छैन । श्रम बजारको प्रक्षेपणबिना नै धमाधम जनशक्ति उत्पादन मात्र भइरहेको छ । त्यसैले अनुमान र तथ्यांकमा आधारित मूर्त योजना बनाएर काम गर्न सके दक्ष जनशक्ति सजिलै रोजगार बजारमा खपत हुन सक्छन् । यस्तो योजना बजार मागमा आधारित हुनुपर्छ, जसले शैक्षिक बेरोजगारको समस्या समाधान गर्न सहयोग गर्छ ।
दक्ष जनशक्ति उत्पादनको सन्दर्भमा वस्तुतः शिक्षा, श्रम, सीप र उत्पादनसँग जोडिने खालको हुनैपर्छ । परम्परागत प्रणालीको शिक्षाबाट दक्ष जनशक्ति उत्पादन नहुने हुँदा यस्तो शिक्षाले देशको समृद्धिमा योगदान दिन सक्दैन । देशको उत्पादकत्व वृद्धिका लागि पनि दक्ष जनशक्तिको गुणात्मक विकास आवश्यक हुन्छ । निश्चित तहको शिक्षा हासिल गरेपछि यस्तो जनशक्तिलाई सजिलै रोजगारी पाउने वातावरणका लागि पर्याप्त व्यावहारिक अभ्यास हुनुपर्छ । यसका लागि पढ्दापढ्दै उत्पादनमा सहभागी हुने वा कुनै तह पार गर्न निश्चित परिणामको उत्पादन गरेकै हुनुपर्ने नीति अँगाल्नु अपरिहार्य देखिन्छ । देशका हरेक प्राविधिक शिक्षालय, क्याम्पस, विश्वविद्यालय जस्ता शैक्षिक प्रतिष्ठानले आफ्ना विद्यार्थीलाई सम्बन्धित विषयअनुसारको कुनै न कुनै उत्पादनमा जोड दिए मात्र त्यहाँबाट निस्किएका विद्यार्थी भोलिका दिनमा खास अर्थमा दक्ष जनशक्ति बन्छन् ।
हामीकहाँ मुख्य समस्या नै शिक्षित नागरिकमा स्वरोजगारमैत्री र आयआर्जनमूलक ज्ञान र सीपको अभाव हुनु हो । यसो हुनुमा माथि उल्लेख गरिए जस्तै समयसापेक्ष शिक्षाको कमी पनि हो । त्यसैले समयअनुकूल, गुणस्तरीय र व्यावहारिक शिक्षा आजको मुख्य आवश्यकता हो । यीमध्ये कुनै पनि शिक्षा नेपालमा पूर्णतः कार्यान्वयन हुन सकेको छैन । हाम्रो शिक्षा दिनानुदिन व्यावहारिक भन्दा सैद्धान्तिक छ । यसैगरी शिक्षाको सैद्धान्तिक पद्धतिलाई परिमार्जन गर्न अति आवश्यक छ । त्यसैले पढेका विषयलाई व्यवहारमा उतार्ने र समय अनुकूल रोजगारमूलक शिक्षा हुने हो भने पक्कै पनि शिक्षा उपलब्धिपूर्ण हुनेछ ।
राज्यले उपलब्ध दक्ष जनशक्तिको उपयोग गरी अधिकतम लाभ हासिल गर्ने कार्यक्रम बनाउनुपर्छ । जनशक्तिले अध्ययन गरेको विषय वा सिकेको सीप अनुसारको क्षेत्रमा रोजगारीका अवसार सृजना गराउन पहल गर्नुपर्ने हुन्छ । अन्यथा मुलुकमा रहेको जनशक्तिले अन्य वैकल्पिक बाटो अपनाउन बाध्य हुन्छन् । मुलुकमा रोजगारीको अवसर नदेखेकै कारण ठूलो संख्यामा श्रम शक्ति वैदेशिक रोजगारमा गएको कारण पनि यही हो ।
नेपालको संविधान, २०७२ मा प्रत्येक नागरिकको मौलिक हकमा रोजगारी पनि राखिएको हुँदा यसको कार्यान्वयन हुन सकेको छैन । जसका कारण अहिले नेपाली युवाजनशक्ति विदेश पलायनले विकराल रूप लिँदैछ । जसलाई हामी ‘ब्रेन ड्रेन सिण्ड्रोम’ भन्छौं । दक्ष जनशक्ति उत्पादन भए रोजगारीका अवसार नहुँदा जनशक्ति ‘ब्रेन ड्रेन’ अर्थात् प्रतिभा पलायनको समस्या छ । यस्तै दक्षता, सीप, सहयोग र सोचको कमीले पनि धेरै ग्रामीण युवा रोजगारी नपाएपछि निर्वाहमुखी जीविकोपार्जन हुने खालका स्वरोजगारतिर लागेका हुन्छन् । त्यी युवा विदेशीएपछि धेरैजसो उतै बस्ने गरेका छन् ।
यस्तै नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक जाने क्रम वर्षेनी बढेसँगै नेपालबाट विदेशिने रकम पनि बढ्दै गएको छ । उच्च शिक्षाका नाममा गत आर्थिक वर्षमा ४० अर्ब रुपैयाँ बाहिरिएको तथ्यांक छ । यो क्रम वर्षेनि बढ्दै गएको पाइन्छ । गुणस्तरीय शिक्षा सुनिश्चित नगरेसम्म विद्यार्थी विदेश जाने प्रवृत्ति रोक्न सकिँदैन ।
हाम्रोमा शिक्षा व्यावहारिक रूपमा राज्यको प्राथमिकतामा परेको पनि देखिँदैन । शैक्षिक संस्थामा हुने राजनीति, शिक्षामा भएको नीतिगत लगायतका कैयौं भ्रष्टाचार, व्यापारीकरण, माफियाकरणले पनि हामीले खोजेको जस्तो शिक्षा प्राप्तिमा चुनौती भइरहेको छ । अतः यस्तो प्रवृत्तिको अन्त्य गर्दै उच्च शिक्षालाई अनुसन्धान र ज्ञानमा आधारित बनाएर अर्थतन्त्रमा टेवा पु¥याउन सक्ने जनशक्ति उत्पादनमा केन्द्रित गर्नुपर्ने टड्कारो आवश्यकता छ । छिमेकी राष्ट्रमा विद्यालय शिक्षालाई रोजगारमैत्री बनाइसकेको अवस्थामा नेपालले पनि सोही मोडलमा विद्यालय शिक्षा शुरु गर्नुपर्छ । उद्यमशीलता र रोजगारी विकास गर्न प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तार गरी सीपमुलक शिक्षामा जोड दिन सबैले सुझाव दिए अनुसार कार्यक्रम अघि बढाउनुपर्छ । स्नातकोत्तर उपाधि विद्यार्थीको पाठ्यक्रमकै अंगको रूपमा इन्टर्नशिप (प्रशिक्षार्थीका रुपमा काम गर्ने) सेवाको प्रबन्ध गरी शिक्षालाई राष्ट्र निर्माणमा आवद्ध गराउने योजनालाई अघि बढाउनुपर्छ ।
विद्यमान शिक्षा पद्धतिमा साधारण शिक्षा प्रधान छ । यसले जे अध्ययन गरेको छ, सोही विषयको शिक्षक उत्पादनको काम मात्र गर्छ । वर्षैपिच्छे लाखौंको संख्यामा शैक्षिक उत्पादन भइरहेको छ । रोजगारीको अभावमा शैक्षिक जनशक्तिमा ठूलो निराशा छ । न त उनीहरू स्वरोजगार हुने योग्यता राख्छन्, न राज्यले नै उनीहरूको क्षमता अनुसारको रोजगारी नै दिन सक्छ । शिक्षा क्षेत्रमा रहेको यो अन्यौलको अवस्थामा परिवर्तन हुन जरुरी छ । साधारण शिक्षा बहुल विद्यमान शैक्षिक परिपाटी अन्त्य गरी प्राविधिक र व्यावसायिक शिक्षामा केन्द्रीत गर्नुपर्छ ।
विशेषगरी शैक्षिक एवं भौतिक अवस्थामा सुधार ल्याउनका निम्ति सरकारले शैक्षिक लगानी बढाउन आवश्यक छ । सरकारी शिक्षण संस्थाको स्तर वृद्धिका लागि शिक्षक र भौतिक संरचनामा लगानी बढाउनुपर्छ । शिक्षक प्राध्यापकको सेवा–सुविधामा न्यूनतम नघट्ने गरी व्यवस्थापन गर्न जरुरी छ । शिक्षण पेशा मर्यादित र सम्मानित बनाउन जरुरी छ । उल्लेखित सबै पक्षलाई ध्यानमा राखेर सरकारले शिक्षामा लगानी बढाउन जरुरी छ । यसले मात्र शैक्षिक दक्ष जनशक्ति उत्पादन भई मुलुकको विकास र समृद्धिमा ठोस योगदान पुग्नेछ ।
(अर्थको अर्थ विशेषांकबाट)