पूँजीबजार विकास र पूँजी परिचालन
भीष्मराज ढुंगाना अध्यक्ष, नेपाल धितोपत्र बोड
पृष्ठभूमि
नेपालको वित्तीय प्रणालीमा पूँजीबजार महत्वपूर्ण र संवेदनशील संयन्त्रको रूपमा रहेको छ । हालसम्म यस बजारबाट ५ खर्ब रुपैयाँभन्दा बढी पूँजी परिचालन भएको अवस्था छ भने दोस्रो बजारमा एकै दिनमा करिब ५ अर्ब रुपैयाँ मूल्य बराबरको धितोपत्र कारोबार भएको छ । धितोपत्र बजारको बजार पूँजीकरण करिब १६ खर्ब रुपैयाँ रहेको छ । प्राथमिक बजारको पहुँच देशभरका ७७ वटै जिल्लामा पुगेको छ । दोस्र्रो बजारको सेवा पनि विस्तार हुँदै गएको छ । पूँजीबजारको संरचना हेर्ने हो भने २२६ वटा संस्थाले इजाजतपत्र प्राप्त गरी विभिन्न प्रकारका धितोपत्र सम्बन्धी सेवाहरू प्रदान गर्दै आएका छन्, जसमा बजार सञ्चालन गर्ने ब्रोकरहरू, मर्चेट बैंकिङ, आस्बा (एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड एमाउन्ट) सेवाहरू लगायत छन् । हाल दोस्रो बजारमा २१५ वटा सूचीकृत संगठित कम्पनीहरूको कारोबार भइरहेको छ ।
नेपालमा बैंकिङ बजार र पूँजीबजारको गतिविधि एकै समय शुरुवात भए पनि पूँजीबजारको संस्थागत विकास भने ढिलो शुरुवात भएको देखिन्छ । यद्यपि हाम्रो धितोपत्र बोर्ड २८ वर्षमा प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय पूँजीबजारको परिदृश्य हेर्ने हो भने नेपालको पूँजीबजार सुधार, विकास तथा विस्तारका हिसाबले प्रशस्त ठाउँ र सम्भावना भएको क्षेत्र हो । तर, पछिल्लो समय विश्वव्यापी महामारीको रूपमा फैलिएको नोभेल कोरोना भाइरसको प्रकोप नेपालमा पनि प्रवेश गरेसँगै अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएका छन् । हाम्रो पूँजीबजार पनि यसबाट अछुतो रहन सकेन । कोरोना भाइरस महाव्याधि (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि नेपाल सरकारले लकडाउन गरेसँगै हामीले पनि दोस्रो बजारलाई बन्द ग¥यौं । सामान्य अवस्था भएको र त्यो समयमा हामीले दोस्रो बजार खोल्यौं । हामीले दुई दिन मात्र बजार के खोलेका थियौं, बजारको प्रवृत्ति पनि राम्रो देखिएन । सरकारले पनि लकडाउनलाई अझ कडा बनाउँदै लगेपछि बजारमा लगानीकर्ताको पहुँच नहुने जस्तो अवस्था भयो र त्यसलाई हामीले बन्द गरिदियौं । अब बजारलाई स्थायित्व दिन हामीले के–के गर्नुपर्छ भन्ने कुरा छलफल गरेर अगाडि बढेका छौं ।
पूँजी निर्माण र पूँजी परिचालनमा पूँजीबजारको भूमिका
देशको आर्थिक विकासका लागि पूँजी निर्माण पहिलो आवश्यकता हो । पूँजी निर्माण र पूँजी परिचालनमा पूँजीबजारको ठूलो भूमिका हुन्छ । बजारमा दीर्घकालीन पूँजी परिचालन गर्ने महत्वपूर्ण ठाउँ पूँजीबजार हो । यसका लागि यो क्षेत्र मात्र एक त्यस्तो संयन्त्र हो, जसले राष्ट्रिय पूँजी निर्माण र सर्वसाधारणको व्यापक प्रवद्र्धन हुने गर्दछ । पूँजीबजारले एकातर्फ सर्वसाधारणसँग रहेको बचत परिचालन हुन सक्ने संयन्त्र प्रदान गरेको हुन्छ । अर्काेतर्फ संगठित संस्थालाई छोटो समयमै न्यून लागत पूँजी संकलन गर्न सक्ने अवस्थाको निर्माण गरेको हुन्छ । पछिल्लो समय पूँजीबजारको दायरा केवल पूँजी परिचालनमा मात्र सीमित नभई वातावरण, समाज र सुशासनको प्रवद्र्धनमा समेत भूमिका देखिन थालेको छ ।
पूँजी परिचालन प्रक्रियालाई प्रभावकारी बनाउन बोर्डले पूँजीबजारका संयन्त्रहरूलाई निष्पक्ष, पारदर्शी एवम् विश्वसनीय बनाउने प्रणालीगत जोखिमहरूको न्यूनीकरण गर्ने र लगानीकर्ताको हकहितको संरक्षण गर्ने कार्यलाई प्राथमिकता दिँदै आएको छ । पूँजीबजारको क्षेत्र र दायरा विस्तारमा बोर्ड निरन्तर लागिरहेको छ । खासगरी पूँजीको प्रभावकारी परिचालनका लागि धितोपत्र निष्कासन प्रक्रियालाई सरल, प्रविधिमैत्री एवं मितव्ययी बनाउने, मूल्य निर्धारण सम्बन्धी विधि आधुनिक एवं विश्वसनीय बनाउने र बढीभन्दा बढी लगानीकर्ता सहभागी हुन पाउने वातावरण हुनुपर्दछ । यसका लागि बोर्ड कटिबद्ध भएर लागिरहेको छ ।
पूँजीबजारमा एनआरएनको लगानी
देशमा पूँजी भित्र्याउँदै धितोपत्रको तरलता अभिवृद्धि गर्न र पूँजीबजारमा विदेशी स्रोत र साधनको प्रयोग बढाउन आवश्यक छ । धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपाली संघ (एनआरएन) लगायत विदेशी संस्थाहरूको लगानीको महत्वपूर्ण भूमिका रहने गर्दछ । नेपालको पूँजीबजारमा एनआरएनको लगानी भित्र्याउने चर्चा भएको धेरै समय भइसकेको छ । यो विषय नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग पनि जोडिएको विषय भएकाले यसका लागि सहकार्य तथा समन्वय गर्नुपर्ने आवश्यकता छ ।
एनआरएन दुई किसिमका हुन्छन् । नेपाली नागरिकता भएका र विदेशमै नागरिकता प्राप्त गरेका नेपाली मूलका । नेपाली नागरिकता भएका एनआरएनहरूले धितोपत्र दोस्रो बजारमा लगानी गर्न सक्छन् । बोर्डको सन्दर्भमा एनआरएनहरूलाई मर्चेन्ट बैंकरले प्रवाह गर्ने पोर्टफोलियो व्यवस्थापन सेवामार्फत लगानी गर्न सक्ने नीतिगत व्यवस्था रहेको छ । हालै बोर्डले विशिष्टीकृत लगानी कोषमार्फत उनीहरूलाई लगानी गर्न कानूनी व्यवस्था गरिसकेको अवस्था छ । तर, जो चाहिँ नेपाली मूलका विदेशीहरू हुन्, तिनीहरूलाई चाहिँ अहिले शेयर बजारमा लगानी गर्ने व्यवस्था छैन । त्यसका लागि अहिले हामीले तत्कालै विसूचीकृत लगानीको मोडलबाट उनीहरूले लगानी गर्न सक्ने व्यवस्था गरेका छौं । त्यो व्यवस्था अनुसार उनीहरूले कोषबाट लगानी गर्न सक्छन् । त्यसमा आएका विभिन्न गुरुयोजनामा लगानी गरेर बजारमा सहभागिता जनाउन सक्छन् । उनीहरू प्रत्यक्ष शेयरको दोस्रो बजारमा नै भाग लिएर काम गर्ने स्थिति चाहिँ किन छैन भने विदेशी विनिमय सम्बन्धी ऐन नियम बनाउने काम राष्ट्र बैंकको हो । त्यसमा यो व्यवस्था छैन ।
पूँजीबजारको दिगो विकासमा स्टक डिलरको भूमिका
स्टक डिलर सम्बन्धी नेपाल सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेट कार्यक्रममा समावेश गरेको विषय हो । यसका लागि बोर्डले नागरिक लगानी कोषको अगुवाइमा प्रक्रिया अगाडि बढाउने सम्बन्धमा पत्राचार गरेको अवस्था छ । नेपालको पूँजीबजारको विकास गर्ने उद्देश्यले उक्त कोष स्थापना भएकोले पनि कोषलाई स्टक डिलरको भूमिका दिन खोजिएको हो । स्टक डिलरले बजारमा देखिने धितोपत्रको माग र आपूर्तिलाई सन्तुलनमा ल्याउने प्रयास गर्दछ, जसबाट बजार सन्तुलित बन्न जान्छ । कोषले स्टक डिलरका रूपमा बलियो पूँजी, प्रविधि, पूर्वाधार, दक्ष जनशक्तिमार्फत व्यावसायिक सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । यस्ता स्टक डिलरको संख्या आगामी दिनमा अझै विस्तार हुँदै जानुपर्छ ।
मुख्य चुनौती
पछिल्लो समय बजारको विकास उल्लेखनीय रहे तापनि बजार नियमन तथा सुपरिवेक्षण प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने, बजार प्रविधिमैत्री बनाउनुपर्ने, यन्त्रीकरण गर्दै लैजानुपर्ने, पूँजी बजारमा सूचीकृत कम्पनी तथा लगानी उपकरणमा विविधता प्रवद्र्धन खासगरी रियल सेक्टरका कम्पनीहरूको सहभागिता, संस्थागत सुशासनको पक्षलाई सुदृढ बनाउन, धितोपत्र व्यवसायीको व्यावसायिकता अभिवृद्धिसँगै वस्तु विनिमय बजारको प्रभावकारी नियमन गर्ने लगायतका चुनौती धितोपत्र बोर्ड सामु रहेका छन् । ऋणपत्र बजार, ओटीसी (ओभर द काउन्टर) बजारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । यस्तै वित्तीय क्षेत्रका नियामक निकायहरूबीच हुने आपसी समन्वय तथा सहकार्यलाई पनि प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको छ ।
पूँजीबजारको दिगो विकास
अहिले प्राथमिक बजारमा प्राथमिक शेयर निष्कासन (आईपीओ), बोनस शेयर, एफपीओमा प्राइसिङ गर्ने तौरतरिकालाई व्यवस्थित गर्नुपर्ने देखिएको छ । नेपालको पूँजीबजारमा व्यावसायिकता र क्षमताको कमी छ । संस्थागत सुशासनको पक्ष पनि कमजोर रहेको छ । यी अवस्थाहरूमा सुधार नगरेसम्म पूँजीबजारको दिगो विकास हुन कठिन छ । हाम्रा कारोबारलाई यन्त्रीकरण गर्दै इन्टरनेट र वेब बेसमार्फत अगाडि बढाउनुपर्छ । बोर्डको आफ्नै नियमन र सुपरिवेक्षण क्षमता बढाउनुपर्ने देखिन्छ । कानूनी आधारहरूको पनि सुदृढीकरण गर्नुपर्नेछ । पूँजी बजार विकासका लागि अत्यावश्यक कार्यहरू अगाडि बढाइसकेका छौं । धितोपत्र व्यवसायीहरूलाई व्यावसायिक, प्रतिस्पर्धी बनाउँदै क्षमता अभिवृद्धिका लागि उपयुक्त कार्यक्रमहरू ल्याउनुपर्ने देखिन्छ । बजारमा पूँजी उपकरणहरूको विकास र विस्तार गर्नुका साथै बजारको पहुँच पनि बढाउनुपर्ने अवस्था छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन मस्यौदा संसद्मा प्रस्तुत भइसकेको छ ।