काठमाडौं उपत्यकामा एक साता ‘कर्फ्यू’
काठमाडौं, ३ भदौ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार (आज) राती १२ बजेदेखि १० गते राती १२ बजेसम्म एक साताका लागि निशेधाज्ञा कार्यान्वयन गर्ने भएका छन् । कोभिड–१९ को संक्रमण तीव्र रुपमा फैंलदैं गएपछि यसलाई रोक्न एक साता निशेधाज्ञाको घोषणा गरिएको हो । यो अवधिमा अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्न आह्वान गरिएको छ । औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक वस्तु र सेवा खरिदका लागि बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन पाउनेछैनन् । अत्यावश्यक सामग्री बोकेका मालबहाक ढुवानी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य कुनै पनि सवारीसाधन उपत्यका भित्रन पाउने छैनन् भने जिल्लाभित्र सबै प्रकारका सवारीसाधनको प्रयोगलाई निषेध गरिएको छ ।
अत्यावश्यक सेवा भनी नतोकिएको तर कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार व्यवस्थापनका लागि सरकारका कर्मचारीहरुको आवतजावत गर्दा फोटोसहितको परिचयपत्र धारण गरी सवारी साधन चलाउन आग्रह गरिएको छ भने सकेसम्म न्यूनतम कर्मचारीबाट यस्ता सेवाको व्यवस्थापन गर्न भनिएको छ । औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, पानी, तरकारी, फलफूल, दूध, दूरसञ्चार, सूचना तथा सञ्चार, क्वारेन्टीन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि सवारी पासको आवश्यकता पर्दैन । कुनै मेला, महोत्सव, जात्रा सञ्चालन गर्न र मान्छेहरु भेला हुन पूर्णतः रोक लगाइएको छ । परम्परागत रुपमा हुँदै आएको आन्तरिक नित्य पूजापाठ बाहेक अन्य सबै धार्मिक गतिविधिमा रोक लगाइएको छ ।
शैक्षिक संस्था, ट्युसन सेन्टर, भाषा कक्षा, प्रशिक्षण केन्द्र र मानिसहरु जमघट हुने गतिविधि सञ्चालन गर्न रोक लगाइएको छ । त्यस्तै, सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, सपिङ मल, डिपार्टमेन्टल स्टोर, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङ पुल, मनोरञ्जन स्थल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, होटल तथा रेष्टुराँ सञ्चालन गर्न रोक लगाइएको छ ।
यद्यपि, बैंकिङ सेवा लगायत अन्य महत्वपूर्ण निकायहरुले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्नेछ । सो सम्भव नभएमा नेपाल राष्ट्र बैंकले तोकेको संख्यामा सीमित रही आवश्यक सेवा सञ्चालन गर्न सकिने उल्लेख छ ।
अत्यावश्यक कामका लागि घरबाहिर निस्कदाँ अनिवार्य रुपमा मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्नेछ । हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भीसा, स्वीकृत हवाई टिकट हुनेहरुलाई सवारीसाधन प्रयोग गरी सीधै एयरपोर्टसम्म जान दिनइनेछ ।
यसका साथै अत्यावश्यक सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि र जम्माखोरी गर्ने, वस्तु लुकाउने आपूर्तिमा अवरोध सिर्जना गर्नेहरुलाई कारबाहीको दायरामा ल्याइने उल्लेख छ ।